अल्पसङ्ख्यक समुदायले मनायो प्राइड परेड
सुर्खेत : कर्णालीमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मनाएको छ । यस समुदायले हरेक वर्षको जुन महिनालाई आफ्नो गौरवको महिनाका रूपमा मनाउँदै आएको छ । कर्णाली प्रदेशको सुर्खेतमा भने पहिलोपटक गौरव यात्रा मनाइएको हो । पछिल्लो समय कर्णालीमा रहेका लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटिक्युआई) समुदायका व्यक्तिहरू खुल्न थालेपछि कर्णालीमा पहिलोपटक गौरव र्याली गरिएको ब्लू डायमण्ड सोसाइटीले जनाएको छ ।
परियोजनाका पिटी प्रिटरले पछिल्लो समय कर्णालीमा पनि एलजिबिटिक्युआई समुदायहरू खुल्न थालेको बताइन् । प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट र्याली सुरु भइ पिपलचौतारामा पुगेर सम्पन्न भएको थियो । उक्त कार्यक्रम सातै प्रदेशमा सम्पन्न गरिएको उनले जनाइन् । यस महिनालाई हामी गौरवको महिनाका रूपमा लिन्छौँ,’ उनले भनिन्,हाम्रो समुदायमा लैंगिक तथा अल्पसंख्यक समुदायका पनि छौ बिस्तारै खुल्न थालेका छौ भनेर जानकारी दिनलाई पनि यो कार्यक्रम गर्न थालेका हौँ ।
विश्वभर जुन महिनामा प्राइड परेड भनेर गौरवयात्रा मनाउने गरिन्छ । सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको तामाङले बताइन् । उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण गरी उनीहरूमाथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो ।
यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिएको उनको भनाइ छ । उनले आफ्नो समुदायमा खुल्न नसकेका एलजिबिटिक्युआई समुदायका व्यक्तिहरूलाई सहज रुपमा खुल्न सक्ने वातावरण बनाइदिनुपर्ने बताउँछिन् ।