राउेट समुदायका जेष्ठ सदस्यको मृत्यु
दैलेख : लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य ९४ वर्षीय कर्णबहादुर शाहीको बुधवार निधन भएको छ । राउटे समुदाय बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उनको निधन भएको सोसेक नेपालको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए । हरेक २–३ महिनामा बस्ती सर्दै हिंड्ने नेपालको एक मात्र फिरन्ते जाति राउटे समुदायले मान्दै आएको हिन्दू धर्मसँस्कार अन्तरगत बुधबार नै जमिन गाडिएको जोडी शिक्षक खत्रीले जानकारी दिए ।
उनले भने समुदायमा कसैको मृत्यु भएमा मृतकलाई बाँदर मार्ने जालमा गुथेर खाल्डोमा गाड्दा हरेक घरबाट धान, चामल अनि नयाँ कपडा चढाएर गाड्ने चलन छ । राउटे समुदायमा जन्मदर भन्दा मृत्यु दर बढिरहेको छ । पछिल्लो तथ्याङक अनुसार राउटे जातिको जनसंख्या अब एक सय ४१ जना मात्र बाँकी रहेको छ । दैलेख आसपासको क्षेत्रमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायले नागरिकता लिएका छैनन् ।