Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रहरी युनिटमा नागरिक सहजकर्ता


दैलेख  :  जिल्ला प्रहरी कार्यालयले सुरक्षित कर्णाली प्रदेश विशेष अभियान २०८० अन्तरगत जिल्लाका सबै प्रहरी युनिटमा नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटमा सेवा लिन पुग्ने नागरिकलाई सहजीकरण गर्ने उद्देश्यले नागरिक सहजकर्ता अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले दुर्गम ठाउँबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा लिँदा कुनै दुबिधा नहोस् भनेर उक्त अभियान सुरु गरिएको जानकारी दिए । प्रहरीमा सेवा लिन पुग्ने सेवाग्राहीलाई सहजीकरण गर्ने उद्देश्यले प्रहरी युनिटको गेटमै नागरिक सहजकर्ता राखिने जानकारी दिए । उनले भने जिल्ला प्रहरी मातहत रहेको प्रहरी युनिटलाई अभियान बारे जानकारी र नागरिक सहजकर्ता सम्बन्धी प्रशिक्षण समेत गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले प्रहरीले दिने सेवा सरल,मर्यादित,समान र निष्पक्ष बनाउने अभिप्रायले उक्त अभियानको सुरुवात गरिएको जानकारी दिए । उनले भने प्रहरीमा पहुँच भएका सेवाग्राहीको काम छिटो हुने र पहुँच नभएका नागरिक सेवा लिँदा अन्योलमा पर्ने समस्यालाई समाधान गर्न यो अभियान प्रभावकारी हुन्छ । प्रहरीमा अहिले पनि स्रोत साधनको अभाव छ त्यसका बाबजुद पनि शान्ति सुरक्षा दिँदै आएको छ त्यसका लागी स्थानीय सरकारले पनि प्रहरीलाई सहयोग गर्न जरुरी रहेको प्रजिअ हमालले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले नागरिकको सुरक्षामा खटिने प्रहरी नै पहिला सुरक्षित हुने पर्ने बताए । उनले नागरिकको सुरक्षाका लागी प्रहरी र बिना बर्दीका प्रहरी नागरिक सबैको भूमिका महत्त्वपूर्ण रहेको जानकारी दिए । उनले भने भौगोलिक बनावटका कारण सेवा प्रवाह समस्या भएको भन्दै त्यसको सहरीकरणका लागी स्थानीय सरकारले विशेष सहयोग गर्नुपर्दछ ।

प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के–कति कामले आएका हुन्। सोधपुछ गर्ने र सेवाग्राहीले भने अनुसारको कामको प्रकृतिअनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ ।