श्रीएयरलाइन्सले पायो सुर्खेत– काठमाडौं उडानको अनुमति
सुर्खेत : निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो । यसअघि बुद्ध एअरलान्सले एकलौटीरुपमा दुई पटकसम्म सुर्खेत–काठमाण्डौं उडान गर्दै आएको थियो । यहि वैशाख १९ गते सुर्खेत उद्योग वाणिज्य संघले श्री एयरलाइन्सलाई कर्णालीमा उडान भर्नका लागि अनुरोध गरेको थियो । बुद्धले एकलौटीरुपमा उडान भर्न थालेपछि यात्रुहरुले चर्को भाडा तिदै आएका थिए ।
केही अन्य प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकोले जेठभित्रै सुर्खेत–काठमाण्डौं उडान भर्नेगरी तयारी थालिएको श्री एयरलाइन्सले जनाएको छ ।
दुईवटा हवाई कम्पनीले प्रतिस्पर्धा गरेपछि कर्णालीबासीलाई हवाई सेवामा सहज हुने उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।
‘यही वैशाख १९ गते हामीले सुर्खेतमा उडान भर्नका लागि श्री एयरलान्सलाई अनुरोध गरेका थियौं । अनुमति पनि पाइसकेको छ । अब जेठभित्र उडान भर्नेगरी तयारी थालेको कुरा हामीले जानकारी पाएका छौं,अध्यक्ष कँडेलले भने,प्रतिस्पर्धात्मक उडान भएपछि कर्णालीवासीलाई केही मात्रामा राहत हुनेछ ।