दैलेखका एघारै पालिकामा फैलियो लम्पी स्किन रोग
दैलेख : दैलेख जिल्लाका एघारै पालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन नामक रोगको प्रकोप फैलिएको पाइएको छ । जिल्ला पशु अस्पताल तथा पशुसेवा कार्यालयले जिल्लाका एघारै पालिकामा उक्त रोग फेलिएको जानकारी दिएको छ ।
जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर विष्टले जिल्लाका एघारै पालिकामा लम्पी स्किन रोगको प्रकोप फैलिएको र त्यसका लागी स्थानीय तह सँग समन्वय गरी उपचार सुरु जानकारी दिए । उनले सबै पालिकामा पशु शाखामा कार्यरत कर्मचारी सँग समन्वय गरेर नागरिकलाई लम्पी स्किन रोगको प्राथमिक उपचारका बारेमा स्थानीयलाई समेत जानकारी गराइरहेको बताए ।
सङ्क्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन्। । दैलेखको आठबिस नगरपालिका–८ तिलेपाटामा एक गोरु लम्पी स्किन रोगकै कारण मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जानकारी दिएको छ । पशु अस्पतालका निमित्त कार्यालय प्रमुख विष्टले दिएको जानकारी अनुसार लम्पी स्किन रोग क्याप्रिपक्स भाइरसका कारण गाई भैँसीमा लाग्ने सङ्क्रामक रोग हो।
यस रोगका मुख्य लक्षणमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखिन्छन्। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी हुन्छ । पशुले घाँस पानी नखाने, नाक, खुट्टा सुन्निने र पशु हिँडडुल गर्न नसक्ने यसका लक्षण हुन्। पशुहरू दुब्लो हुने, निमोनिया हुने र छालामा धब्बा वा प्वाल हुने गर्दछन्। विशेष गरी यो रोग लामखुट्टे, टोक्ने झिँगा, किर्ना आदिको टोकाइबाट बढी सर्ने गर्छ ।
नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुबेदीले स्थानीय नागरिकले गाई भैँसी बिरामी परेको खबर गरे लगत्तै प्राविधिक टोली खटाई उपचार सुरु गरेको जानकारी दिए । उनले प्राविधिक टोलीले उपचार सँगै स्थानीयलाई समेत लप्पी स्किन रोग बाट बचाउन का लागी अन्य गाई भैँसीलाई अन्यत्र बान्न लगाएको बताए ।