Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो


काठमाडौँ  :  स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको छ । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेललाई बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको हो ।
प्रेस सल्लाहकार पोखरेलका अनुसार पौडेलसँग उनका निजी चिकित्सक डा निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको छ । नयाँदिल्ली नपुन्जेलसम्म हवाई यात्राका क्रममा राष्ट्रपति पौडेलको उपचार र निगरानीमा त्रिवि शिक्षण अस्पतल र नर्भिक अस्पतालको चिकित्सकको टोली खटिएको छ ।

परिवारकै आग्रहमा पौडेललाई नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स(लगिएको हो । छातीमा संक्रमण देखिएर उनी गत साता तीन दिन अस्पताल बसेर फर्केका थिए । मंगलबार असहज भएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित अन्य मन्त्री शिक्षण अस्पताल पुगेका थिए । लामो समय एन्टिबायटिक चलाउँदा पनि स्वास्थ्यमा उत्साहजनक सुधार नभएको भन्दै परिवारका सदस्यले थप उपचारका लागि भारत लैजाने इच्छा प्रधानमन्त्रीसँग राखेका थिए ।

छातीमा संक्रमण देखिएपछि उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल गएका थिए । उपचारमा संलग्न एक चिकित्सकका अनुसार त्यही दिन छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको ती चिकित्सकले बताए । छातीको एमआरआई र सीटी स्क्यान रिपोर्टमा पनि संक्रमणबाहेक नराम्रो रिपोर्ट छैन । ठूलो समस्या छैन । तर परिवारले चाहना राखेकाले थप उपचारका लागि भारत लैजान खोजिएको हो,उनले भने ।