परराष्ट्रमन्त्री एनपी साउद र राज्यमन्त्री चपाईले लिए शपथ
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एक जना मन्त्री र एक जना राज्यमन्त्री मन्त्रीमण्डलमा थपेका हुन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । राज्यमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराए ।
कांग्रेसका नारायणप्रकाश साउद (एनपी)ले परराष्ट्रमन्त्रीको शपथ लिएका हुन् । यस्तै, नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईले राज्यमन्त्रीको शपथ लिइन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । प्रधानमन्त्रीले अझै आफूसँग पाँचवटा मन्त्रालयको जिम्मेवारी राखेका छन् ।