रवि लामिछानेको मुद्दामा कारण देखाउ आदेश जारी
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ। न्यायाधीश हरि फुयाँलको एकल इजलासले विपक्षीका नाममा अन्तरीम आदेश जारी भएको हो। बुधबार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिटको पेसी तोकिए पनि पछि हेर्न नमिल्नेमा राखिएको थियो। रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा। दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो।
अधिवक्ता युवराज पौडेल सफलले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ। यसअघि नै उनले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा लामिछानेलाई दोषी ठहर गरेको थियो।
फैसलासँगै लामिछानेको सांसद ,उप्रधानमन्त्री,गृहमन्त्री पद गुमेको थियो। पछि जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन्। महान्यायाधिवक्ता डा।पोखरेलले यही चैत छ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। जिल्ला सरकारी वकिलको कार्यालयहुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेपछि सो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको हो।