हाडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना
दैलेख : चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटमा मंगलवार अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कर्णाली योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले औपचारिक कार्यक्रमवीच अस्थायी प्रहरी चौकीको उद्दघाटन गरेका हुन । उपाध्यक्ष शाहीले प्रहरी चौकी स्थापनाले सुरक्षाको प्रत्याभूतीले यस क्षेत्रको व्यापार व्यवसाय फस्टाउने र नागरिकको आर्थिक उन्नति हुने अपेक्षा रहेको बताए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका मेयर गणेशबहादुर शाहीले पालिका क्षेत्रकै पुरानो मुकाम, शैक्षिक केन्द्र भएको अवस्थामा सुरक्षा प्रत्याभूती निम्ति नगरपालिकाले आर्थिक व्ययभार लिएर अस्थायी प्रहरी चौक स्थापना गरेको बताए । उनले नागरिकहरुको सुरक्षा आफूहरुको जिम्मेवारी भएकोले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नागरिकको सुरक्षा राज्यको दायित्व रहेको बताउँदै शान्ती सुरक्षा प्रदान गर्ने सवालमा सबै सरोकारवाला निकायको भुमिका महत्वपूर्ण हुने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले सीमित जनशक्ति रहेको अवस्थामा स्थानीय आवश्यकता र माग अनुसार हाडाकोट अस्थायी प्रहरी चौकीको स्थापना भएको बताए । उनले भने प्रहरीलाई जति सहयोग गर्नुहुन्छ, त्यति नै सुरक्षाको सहजता हुन्छ ।