सडक निर्माणमा ढिलासुस्ती
दैलेख : नारायण नगरपालिकाको मुख्य सडक क्षेत्र निर्माणमा ढिलाइ भएको छ । पुरानो बजार देखी गणेश चोक सम्म मुख्य सडक क्षेत्रमा नाला सहित सडक स्तर उन्नति गर्न ढिलाइ हुँदा पैदल यात्रुलाई समेत समस्या भएको छ । कामको मुल्याङकनका आधारमा भुक्तानी दिने गरी नगरपालिका एक करोड १२ लाख एस.आर.पी ग्रुप कन्स्ट्रक्सन सँग सम्झौता गरेको थियो ।
निर्माणको जिम्मा पाएको एस.आर.पी. ग्रुप कन्स्ट्रक्सनले नाला निर्माणका लागी खनिएको भएपनी मुख्य बजार क्षेत्र पुरानो बजार, देवकोटा चौक हुँदै गणेश चौक जाने सडकका विभिन्न ठाउँमा भत्काएर अलपत्र पारेका छ । सडक निर्माण अलपत्र पर्दा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने आवतजावतमा समस्या देखा परेको छ । यति मात्रै होइन, नाला भत्काइँदा दुर्गन्ध, धुलो धुवाँले विभिन्न सरुवा रोगको जोखिमसमेत बढेको भन्दै नागरिकले विरोध समेत गरेका छन् । नारायण नगरपालिका –१ का व्यापारी मनोज कुमार थापाले निर्माणले सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको लापारवाहीका कारण जोखिम बढेको बताए । उनले सडक अस्तब्यत हुँदा सवारी दुर्घटनाको जोखिमसमेत बढेको बताए । उनले भने वैकल्पिक मार्गसमेत नभएकाले तीव्र गतिमा काम अगाडि बढाउनका लागी नगरपालिका लाग्नु पर्ने हुन्छ ।
नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले सडक र नाला निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु गरेको भए पनि बिचमा रोकिएको बताए । उनले निर्माण कम्पनीलाई काम रफ्तारमा गर्न आफूले निर्देशन समेत दिएको बताए । उनले भने निर्माण कम्पनीले छिटो भन्दा छिटो काम सक्ने आफूलाई जानकारी दिएको र नगरपालिकाले निरन्तर अनुगमन समेत गरिएको छ ।
एस.आर.पी. ग्रुप कन्स्ट्रक्सनका प्रतिनिधि मदन भण्डारीले काम सुरु गरेकै बेला माघी पर्व परेको काम गर्न आएका कामदारहरू माघी मनाउन गएका कारण ढिलाइ भएको बताउँदै कामदार आइसकेका कारण काम रफ्तारमा भइरहेको बताए । उनले खनिएको ठाउँमा ग्राभेल गर्ने, जाली बुन्ने र ढलान कार्य गर्ने काम सुरु भएको बताए । उनले हामीले निर्माणका लागी पाएको समयमै काम सम्पन्न गर्ने तयारी गरेका छौ । सडकको अवस्था हेरेर बिस्तार गर्न मिल्ने ठाउँमा सडक बिस्तार गरेर ४ सय मिटरमा पिसिसि गरिने बताइएको छ ।