Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

प्रतिबद्धता अनुसार काम नगरेको नागरिकको गुनासो


दैलेख  :   निर्वाचनका बेला जनताका बिचमा गरिएका प्रतिबद्धता अनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो गरेका छन् । आइतबार भगवतीमाई गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय बृहत् सार्वजनिक सुनूवाई कार्यक्रममा सहभागी नागरिकले निर्वाचनका बेला जनताका बिचमा गरिएका प्रतिबद्धतालाई कार्यान्वयन गर्न नसकेको भन्दै जनप्रतिनिधि सँग गुनासो पोखेका छन् ।

भगवीतमाई गाउँपालिका –२ रुमका तेज बहादुर नेपालीले निर्वाचनका बेला जनताका बिचमा गरिएका प्रतिबद्धता अनुसार जनप्रतिनिधिले काम नगरेको भन्दै प्रश्न गरेका छन । उनले निर्वाचनको बेला युवालाई रोजगारी खै,दलितहरूको उत्थानका कार्यक्रम, शिक्षाको गुणस्तर सुधार, भौतिक पूर्वाधार लगायतका विषयमा गरिएका प्रतिबद्धता निर्वाचन भएको एक वर्ष पुग्न लाग्दा समेत कुनै काम नगरेको गुनासो गरे । उनले भगवतीमाई गाउँपालिकामा ३७ प्रतिशत भन्दा बढि दलित भएको भए पनि दलित लक्षित रकम विनियोजन नगर्ने गरेको बताए । उनले भने दलित लक्षित रकम आँखामा छारो हाल्ने काम गरिएको भन्दै पालिकाले नीति तथा कार्यक्रम सञ्चालन ल्याउँँदा दलित समुदायलाई प्राथमिकता राखेर बजेट विनियोजन गरियोस् ।

त्यस्तै भगवतीमाई गाउँपालिका –५ का जगत बहादुर शाहीले गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रम सामाजिक परीक्षण र सार्वजनिक सुनूवाई बिनै भुक्तानी हुने गरेको बताए । उनले गाउँपालिकाले सुशासन प्रवर्द्धन कार्यविधि २०७८ जारी गरेको भए पनि त्यसको मर्म र भावनालाई समेत कदर नगरेको बताए । उनले भने शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रको अवस्थामा जनप्रतिनिधिले हिजो गरेका प्रतिबद्धतालाई भुलेको बताए । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी छैन, विद्यालयमा शिक्षकले पढाएको छैन ,दिवा खाजा प्रभावकारी छैन, सवारी साधनको दुरुपयोग भएको छ त्यसमा स्थानीय सरकारका जनप्रतिनिधिको त्यस तर्फ ध्यान दिन नसकेको शाहीको भनाई छ ।
त्यस्तै भगवतीमाई गाउँपालिका –४ का जनक अधिकारीले स्थानीय सरकारले स्थानीय सरकारले नागरिकको मत जित्ने काम गर्न सुझाव दिए । उनले गाउँपालिकामा रहेका अपाङ्ग र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउनु पर्ने,पालिकाले सञ्चालन गरेको योजनामा होडिङर्बोड राख्नु पर्ने,पालिकामा कर्मचारीहरू नभेटिने समस्या समाधान गर्नु पर्ने,गाउँपालिकाको विकास खर्च प्रतिशत वृद्धि गर्नु पर्ने,पालिकाले अनुदानमा दिने सामाग्रीको अनुगमन गर्नु पर्ने बताए ।
भगवीतमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले निर्वाचित भएको एक वर्ष पुग्न नपाउँदै जनप्रतिनिधिले निर्वाचनको बेला गरिएको प्रतिबद्धता बिर्सिएको भन्न नमिल्ने बताए । उनले भने हामीले धेरै काम सुरु गरेका छौ केही काम ठेक्का लागेका छन् भने केही लाग्ने तयारीमा समेत रहेको छन् । नागरिकले गरेका गुनासोहरूलाई सम्बोधन गर्न आफूहरू प्रतिबद्ध छौ राम्रो कामको प्रशंसा र नराम्रो कामको खबरदारी नागरिकलाई गरिरहन आग्रह समेत अध्यक्ष थापाले गरे ।
भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले नागरिकले सार्वजनिक सुनुवाइ कार्यक्रममा उठाएका सवाललाई सम्बोधन गर्ने बताए । उनले नागरिकले उठाएका सवाललाई सम्बोधन गर्न छ बुँदे प्रतिबद्धता समेत गरिएको बताए ।