विवाह गर्दा अनुमति पत्र अनिवार्य
दैलेख : गुराँस गाउँपालिका –८ ले विवाह गर्दा वडा कार्यालय बाट अनुमति पत्र अनिवार्य लिनु पर्ने नियम लागु गरेको छ । बाल विवाह न्यूनीकरण उद्देश्यले वडामा विवाह गर्दा वडा कार्यालयमा पुगेर अनुमति पत्र लिनु पर्ने नियम लागु गरेको हो ।
गुराँस गाउँपालिका –८ का वडाध्यक्ष दीपेन्द्र ओलीले फागुन १२ गते बसेको वडा समितिको बैठकले बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले वडा भित्र वैवाहिक कार्य गर्नु परेमा जन्म दर्ता लिएर वडा कार्यालयमा जानु पर्ने र वडाले अनुमति पत्र प्रदान गरेपछि मात्र विवाह गर्न सकिने नियम लागु गरिएको बताए । उनले गुराँस –८ बाल विवाह निषेध वडा भएका हुँदा फागुन १२ गते निर्णय गरेको भए पनि मङ्गलवार सूचना जारी वडावासीलाई जानकारी गराइएको बताए ।
विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले जारी गरेको अनुमति पत्र पनि सँगै ल्याउनु पर्ने नियम बनाएका छौ त्यसले बालविवाह न्यूनीकरण सँगै नागरिकलाई समयमै विवाह दर्ता गर्न समेत प्रेरित गर्ने उद्देश्यले उक्त नियम लागु गरेको अध्यक्ष ओलीले बताए । उनले विवाह गर्ने तर विवाह दर्ता नगर्ने र केटा र केटी बिच विवाद उत्पन्न भएपछि वडा कार्यालयमा चोर बाटो भएर विवाह दर्ता गर्न आउने समस्यालाई समेत यसले निराकरण गर्ने बताए ।
बालविवाह न्यूनीकरण सम्बन्धी काम गर्ने संस्था महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले जिल्लाका प्रत्येक वडाले यस्तो खाले नियम बनाएको खण्डमा बाल विवाह पूर्ण रूपमा अन्त्य हुने बताइन ।उनले भनिन गुराँस –८ ले बनाएको नियमलाई पालिकाले समेत आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर कार्यान्वयन गर्न जरुरी रहेको बताए । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेखमा आर्थिक वर्ष ०७८÷०७९मा सात बालबिवाह मुद्धा दर्ता भएको र चालु आर्थिक वर्षको माघ मसान्त सम्म पाँच मुद्धा दर्ता भएका छन ।