यूएईविरुद्ध नेपाल ४२ रनले विजयी


काठमाडौं : दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईलाई ४२ रनले पराजित गरेसँगै नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाई राखेको छ।
एकसमय यूएईलाई जितका लागि ५७ बलमा ५४ रन चाहिएको अवस्थामा यूएईका लागि संयमित इनिङ खेलेका ओपनर आसिफ खान र कार्तीक मियाप्पनलाई लाई आउट गर्दै दीपेन्द्रले लगातार विकेट लिएपछि नेपाल जिततर्फ बढेको थियो।
यूएईका ओपनर मोहमद वासिम डकआउट हुँदा आसिफ खानले सर्वाधिक ८२ रन योगदान गरे । उनले १ सय १५ बल खेल्दै २ चौका र तीन छक्का प्रहार गरे । आर्यान लाक्राले दीपेन्द्रसिंह ऐरीको बलमा एलबी डब्लू आउट हुँदा ७८ बलमा ४ चौका र एक छक्कासहित ५० रन बनाए ।
भृत्य अर्विन्दले १३ रन योगदान गर्दा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल भए ।
नेपालको बलिङमा दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चिएर तीन विकेट लिए । सोमपाल कामीले ७ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिएर तीन विकेट लिए । त्यबाहेक सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले समान एक विकेट लिए ।
यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल तयार पारेको थियो ।

