Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

मानब बेचबिखन कसुरमा सात वर्ष कैद


दैलख  :  मानव बेचबिखन कसुरमा जिल्ला अदालत दैलेखले सात वर्ष कैदको फैसला गरेको छ । भैरवी गाउँपालिकाका चार जना बालिकाहरुलाई फकाइफुलाई बेचबिखनको उद्देश्यले पठाएको पुष्टि ठहर गर्दै जिल्ला न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमवार भैरबी गाउँपालिका–१ गैराखाडीकी ३६ वर्षीया मनकुमारी बिष्टलाई सात वर्ष कैदको फैसला गरेको हो ।
जिल्ला अदालत दैलेखका सुचना अधिकारी टिकाराम न्यौपानेले दिएको जानकारी अनुसार फैसलामा भनिएको छ ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १५ को देहाय ६ बमोजिम कसूरदार बिष्टलाई सात वर्ष कैद र चारै जना पीडितलाई जनही १० हजारका दरले क्षतिपूर्ति तिर्नुपर्ने ठहर्छ ।’ यो दफामा ७ वर्षदेखि १० कैद हुने उल्लेख छ । सो फैसलामा अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ अनुसार कसूरले १३ सय रुपैंयाँ पीडित राहत कोषमा तिर्नुपर्ने उल्लेख छ । रोजगारी पाउछौ, धेरै कमाई हुन्छ’ भारतको दिल्लीमा रहेको दलालको सम्पर्क गराई त्यसतर्फ पठाउदै गर्दा ०७९ वैशाख ११ गते नेपालगञ्जमा माइती नेपालको सहयोगमा प्रहरीले फिर्ता गराएपछि रहस्य खुलेको भन्दै पीडित पक्षले वैशाख १५ गते प्रहरीमा उजुरी गरेको थियो ।

कसूरदारले वैशाख ९ गते दिल्लीसम्म पुग्ने बाटो, यातायातका साधनको प्रयोग गर्ने तरिका र नेपालगञ्जबाट भारतको सीमा पार गर्दा ‘रुपैडिया बजारसम्म मात्र पुग्ने हो’ भन्नू भनी पठाए पनि सीमामा माइती नेपालले रोकेर बालिकाका परिवारजनलाई सम्पर्क गराएको थियो ।घर फर्किएका बालिकाहरुले बताए अनुसार बेचबिखनकै उद्देश्यले दिल्लीको एजेण्ट समेतलाई सम्पर्क गराई पठाएको भन्दै उजुरी बुझाए मुद्धा दर्ता भएको थियो ।
मुद्दा दर्तापछि प्रहरीले गरेको अनुन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा असार १३ गते बेचबिखन सम्वन्धी अभियोग दर्ता गराएको थियो ।अभियोग सम्वन्धमा असार १६ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।