मानव अधिकार रक्षक सम्मेलन सम्पन्न
दैलेख : मानव अधिकारको रक्षा र मानव अधिकार रक्षकहरुको सुरक्षा र पहिचानको विषय सरोकारवालाको ध्यानाकर्षण गराउन इन्सेकले आयोजना गरेको लिल्ला स्तरीय मानव अधिकार रक्षकहरुको दुई दिने मानव अधिकार रक्षक सम्मेलन फागुन १४ गते दैलेखमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको सम्मेलनमा जिल्लाका ४ वटै नगरपालिकाहरु दुल्लू, आठबीस, नारायण र चामुण्डाबिन्द्रासैनीका ४० बढी मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो । सम्मेलनले ९ बुदे घोषणापत्र जारी गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
सम्मेलनले जिल्लाको मानव अधिकारको सम्मान, संरक्षण र प्रर्वद्धन तथा मानव अधिकार रक्षकको सुरक्षा नीति निर्माणमा जोड दिई मानव अधिकार संरक्षणप्रति स्थानीय तह, सरकारका निकाय र सम्बन्धित सरोकारवाला निकायहरुलाई संवेदनशील हुन आग्रह गरेको छ । धार्मिक, सांस्कृतिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गर्न र उपेक्षित तथा उत्पीडित नागरिकहरुलाई मानव अधिकारको प्रत्याभूत गराउन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु विशेषगरी युवा र बालबालिकालाई विभेदरहित सम्मानपुर्वक बाँच्न पाउने वातावरण निर्माण गर्न सुझाव दिइएको छ ।
न्यायिक पहुँचमा ल्याउन, मानव अधिकारको प्रत्याभूती दिलाउन सरकारी प्रयासहरुको प्रशंसा गर्दै मानव अधिकार रक्षकको पहिचान र सुरक्षा सम्वन्धी आदेश २०७७ को प्रभावकारी कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारको ध्यानाकर्षण गराउँछौं घोषणापत्रमा भनिएको छ ।
मानव अधिकार घटनाका पीडित र साक्षीहरुको सुरक्षा, पीडितलाई होष्टाइल हुनबाट जोगाउनेपर्ने, मानव अधिकार रक्षकहरु सुरक्षा र संरक्षणको निम्ति अनुकूलको वातावरण बनाउन सुरक्षा निकाय, स्थानीय सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
मानव अधिकार सवालमा सामाजिक परम्परा, कुरीति र मानवअधिकार सवाल, जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषय र मानव अधिकार सवालमा स्थानीय तह र सरोकारवालाको भूमिका समेत चार वटा विषयमा छुट्टाछुट्टै प्यानल छलफल गरिएको थियो । परम्परा, कुरीति र मानवअधिकार सवालमा कर्णाली प्रदेशसभाका सदस्य गमता बिक, नारायण नगरपालिका उपमेयर तप्ताकुमारी थापा, इन्सेकका कर्णाली प्रदेश संयोजकलाई म्यानल अतिथिमा राखी धारणापछि सहभागी मानव अधिकार रक्षकहरुले समुदायका सवालहरु उठाएका थिए ।
जघन्य मानव अधिकार उल्लङ्घन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष ललितबहादुर थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)का जेसी अफिसर लिला खत्रीले सहजीकरण गरेका थिए ।
न्याय प्राप्तिको अभियान सन्दर्भ र मानव अधिकार उलङ्घन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोता, जिल्ला सरकारी वकील कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत र जिल्ला प्रहरी कार्यालय दैलेख इञ्चार्ज डीएसपी किशोर लम्साललाई प्यानल अतिथि बनाइएको थियो ।
त्यसैगरी मानव अधिकार सवालमा स्थानीय तह र सरोकारवालाको भूमिकामा नारायण नगरपालिका मेयर लोमन शर्मा, महिला सशक्तिकरण मञ्चका संस्थापक अध्यक्ष डिलकुमारी चन्द र नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष तीर्थ भण्डारीले सो विषयमा आआफ्नो धारणा राखेका थिए ।
प्यानल छलफलहरुमा सेसनहरु मावन अधिकार सम्वद्र्धनका लागि गरिएका प्रयास, कानूनको पालना, पीडितले न्याय पाउने प्रक्रिया, प्रक्रियागत जटिलता र समस्याहरुको समाधानको सवाल विषयमा सहभागीहरुले प्रश्न गरे ।
राज्यका सरकारी निकायका अधिकारीहरुले भइरहेका प्रयासहरु बारे जानकारी गर्दै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन काममा आपसी सहकार्य सवालमा खुला अन्तरक्रिया भएको थियो ।
त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोताले बदलिदो परिवेशमा मानव अधिकार रक्षकका काम, कर्तब्य, अधिकार र स्थानीय सरकारसंगको भूमिका विषयमा सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकारकर्मीहरुको क्षमता अभिबृद्धि र सुरक्षा सवाल सार्वजनिक सरोकारको विषय बनेको बताए । नेपाल पत्रकार पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजालले सञ्चारकर्मीहरु मानव अधिकार रक्षक भएकोले भौतिक आक्रमणको जोखिम, विभिन्न किसिमका आरोप र असहयोग भोगिरहेर पनि सुशासन र मानव अधिकार प्रवद्र्धनमा जुटिरहेको व्याख्या गरे ।