दलको नेता नबनाउनुपर्ने कारण पेश गर्न सर्वोच्चको आदेश
काठमाडौँ : सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेता नबनाउन माग गर्दै परेको रिटमा कारण देखाउन आदेश जारी गरेको छ। अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै कारण देखाउ आदेश जारी गरेको हो।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा पुस १० गते समर्थन नगरेको कांग्रेसले पुस २६ गते संसदबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।
प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेसले आफूलाई विपक्षी दलको मान्यता पाउनुपर्ने आशयले संसद सचिवालयलाई पत्राचार गरेको छ।
अधिवक्ता पोखरेलले देउवलाई विपक्षी दलको मान्यता नदिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संसद सचिवालयलगायतलाई विपक्षी बनाएका छन्।