Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नारायणले गर्यो असल आमालाई प्रोत्साहन

दैलेख  :  जिल्लाको नारायण नगरपालिकाले कुपोषणको अवस्थामा शून्यमा ल्याउन असल आमालाई प्रोत्साहन गरेको छ । असल आमा प्रोत्साहनमा तोकेको मापदण्ड पुरा गरेको एक सय तीन जना असल आमालाई प्रोत्साहन गर्न लागेको नगरपालिकाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले असल आमा हुन २० वर्ष उमेर पुगी विवाह गरेको हुनुपर्ने, चार पटक गर्भ जाँच गरेको हुनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनु पर्ने, बच्चालाई पूर्ण खोप लगाएको हुनु पर्ने र दुई सन्तान मात्र भएको हुनुपर्ने मापदण्ड तय गरिएको बताए । उनले नगरपालिकाका ११ वटा वडा मध्ये नौ वडाका ८४ जनालाई शुक्रवार सम्मान गरिएको छ । वडा नम्कर १० र ११ वडाका १९ असल आमाहरुलाई वडामै पुगेर प्रोत्साहन गरिने उनको भनाई छ ।
नगर प्रमुख लोमन शर्माले नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा, बच्चालाई पोषण युक्त खाद्य बस्तु खुवाउने, आमा र शिशुको मृत्युदरमा कमी ल्याउन, महिला र बालबालिका मैत्री सेवा विस्तार गरी नागरिकलाई निरोगी र स्वावलम्बी बनाउन असल आमा प्रोत्साहन कार्यक्रम संचालन गरिएको बताए । उनले आगामी आर्थिक वर्षमा समेत जनता संग प्रत्यक्ष जोडिने कार्यक्रम निरन्तर गरिराख्ने प्रतिबद्धता ब्यक्त गरे ।
नारायण नगरपालिकाका –६ का वडाध्यक्ष एवम प्रवत्ता जनक प्रसाद न्यौपानेले समृद्ध नगर निर्माण गर्न असल आमा प्रोत्साहन, गर्भवती महिलासंग उपमेयर, जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण जस्ता कार्यक्रम संचालन गरिएको बताए । उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीको सिफारिसमा मापदण्ड पुगेका एक सय तीन जना असल आमाहरूलाई प्रोत्साहन बापत दुई हजार रुपियाँ र प्रमाण पत्र प्रदान गरिएको बताए । उनले भने बाल बिवाहलाई शुन्यमा झार्न यो अभियान थालेको बताउँदै यस्ता अभियानले बालबिवाह न्युनीकरण, पाठेघर खस्ने समस्यामा समेत कमी आउने अपेक्षा गरिएको छ ।