गृहमन्त्री लामिछानेले घटाए सुरक्षा टोली
काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् ।
गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्उ पप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।’
उनले आफू सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने बताउँदै भनेका छन्, ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु । कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरि नै यी नियम पालना गर्छु ।’ साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिको आलोचक भएको बताउँदै उनले आकस्मिक अवस्था बाहेक आफूबाट त्यस्तो गतिविधि नहुने भनेका छन् । व्यक्तिगत कामका लागि कतै जानु परे वा विदाका दिनमा हिँड्नु परे निजी सवारीसाधन प्रयोग गर्ने उनले बताएका छन् । भनेका छन् ‘यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाब राज्यलाई बुझाउने छु ।