घरेलु हिंसा र मानसिक समस्याले बढाउँदै आत्महत्या
अमृत बहादुर प्याकुरेल
दैलेख : २०७७ फागुन २३ गते दैलेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडूवालले चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरिन । कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात् फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो । त्यसको भोलिपल्ट फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीय ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो ।
आमासहित कर्णाली नदीमा हाम फालेकी ५ वर्षीया बालिका रजनी बडूवालको शव भने १० दिनपछि कर्णाली नदिको किनारमै भेटिएको थियो । तत्कालीन घटनाको अनुसन्धान अधिकृत तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले प्रहरीको प्रारम्भिक अनुसन्धानले घरेलु हिंसाका कारण मानसिक समस्यामा परेकी सुकीले आफू मात्र नभएर आफ्ना छोरो छोरी सहित कर्णालीमा हाम फालेको पुष्टि भएको थियो ।
उनले श्रीमानले आफूलाई मानसिक समस्या दिने गरेको र आफ्नो मृत्यु भएपछि श्रीमानले आफ्ना छोरा छोरीलाई समेत तनाव दिने डरले आफै लिएर कर्णालीमा हाम फालेको देखिन्छ । उक्त घटनामा सुकीका श्रीमान्विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्रामा प्रहरीले अनुसन्धान गरेको थियो । पछि सुकीका श्रीमान् ४३ वर्षीय मानसिंह बडूवाललाई कारबाहीको माग गर्दै सुकीका भाइ बजिरसिंह थापाले आत्महत्या दुरुत्साहन मुद्दा दिए सँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत दैलेखले सुकी बडूवालका श्रीमान् मानसिंह बडूवाललाई मुलुकी अपराधसहिता ऐन २०७४ अनुसार डेढ वर्ष कैद सजाय तोकिएको थियो ।
नारायण नगरपालिका –१ की ३७ वर्षिया जानकी बादीले कात्तिक पहिलो साता घरमै झुन्डिएर आत्महत्या गरिन । सदरमुकाममा दैनिक ज्याला दारी गरेर खाने उनीहरूको परिवारमा श्रीमानले दिनहुँ मदिरा सेवन गरेर मानसिक तनाव दिने र चरम गरिबिका कारण उहाँले आत्महत्या गरेको प्रहरी अनुसन्धान बाट खुल्यो ।
आमाले आत्महत्या गरेको तीन महिना पुग्दै १८ वर्षीय छोरी गोल्डेन बादीले आत्महत्या गरिन । घरमा दिनहुँ बुवाले मदिरा सेवन गर्ने र आमाको सम्झनाले मानसिक समस्यामा परेकी उनले आमाले आत्महत्या गरेकै ठाउँमा आत्महत्या गरिन ।
माथिका प्रतिनिधि मूलक घटना भएपछि दैलेखमा पछिल्लो समय आत्महत्याका घटना बढ्दो छ । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९÷०८० को पहिलो चौमासिक साउन देखी कार्तिक सम्म १२ जना र मंङसिरमा एक जना गरी १३ जनाले आत्महत्या गरेको उल्लेख छ ।
मानसिक स्वास्थ्य परामर्श केन्द्र(सिएमसी) नेपालका मनोसामाजिक परामर्शकर्ता गगन बहादुर ओलीले दैलेख जिल्लाका नारायण नगरपालिका र दुल्लु नगरपालिकामा मात्र पाँच सय ६ जना मानसिक समस्याका बिरामी फेला परेको बताए । उनले नारायण नगरपालिकामा दुई सय २९ जना र दुल्लु नगरपालिकामा दुई सय ७७ जना मानसिक समस्याका बिरामी रहेको बताए । उनले आत्महत्या बढुनको प्रमुख कारण गरिबी, घरेलु हिंसा प्रमुख कारण भएको बताउँदै त्यस तर्फ स्थानीय सरकारले विशेष प्राथमिकताका साथ काम गर्नु पर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल प्रसाद आर्चायले पारिवारिक कलह, हिंसा र तनावले आवेगमा आएर आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाउने गरेको बताए । उनले गरिबी, बेरोजगारी एवं लैङ्गिक तथा परम्परागत हिंसाका कारण हुने पारिवारिक कलहले मानिसहरू तनाव हुने हुँदा जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको बताए । उनका अनुसार आर्थिक वर्ष ०७७÷०७८ मा ४८ जना ०७८÷०७९ मा ४४ र ०७९÷०८० को पहिलो चौमासिकमा १३ जनाले आत्महत्या गरेका छन् ।