बाल अधिकार सचेतना शिविर
दैलेख : बाल अधिकार सम्बन्धी सचेतना शिविर सञ्चालन गरिएको छ । जिल्ला दुल्लु नगरपालिकामा इन्सेकको कर्णाली प्रदेश कार्यालयले सञ्चालन गरेको इएलपी कार्यक्रम अन्तरगत दुल्लु नगरपालिकाका दुई दिने बाल अधिकार सम्बन्धी सचेतना शिविर सञ्चालन गरिएको हो । दुई दिन सम्म सञ्चालन भएको शिविरमा बाल अधिकार, नेतृत्व सीप, लैङ्गिक हिंसा तथा समाजमा हुने विभेद विरुद्ध खबरदारी, वातावरण शिक्षा लगायत भित्ते पत्रिका प्रकाशन लगायतका विषयमा जानकारी गराइएको छ ।
बाल अधिकार सम्बन्धी शिविर कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले बालबालिकाहरूलाई रचनात्मक सीप विकास गर्न उक्त शिविर सञ्चालन गरिएको बताए । उनले बालबालिकालाई रचनात्मक सिप सिकाउने र त्यस बाट समुदायमा समेत सकारात्मक प्रभाव पार्ने बताए । उनले दुल्लु नगरपालिकाका दुई वटा विद्यालय प्रेमदेवी माध्यमिक विद्यालय पादुका र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालय र जयदेव माध्यमिक विद्यालय जम्बुकाँधमा गठित बाल अधिकार चेतना समूहका बालकालकालाई शिविरमा सहभागी भएको बताए ।
शिविरमा द्रोणाचल शिक्षा क्याम्पस दुल्लुका प्रमुख नरेन्द्रबहादुर बोहराले विद्यालय शिक्षा हासिल गरिरहेका बालबालिकाहरूलाई उनीहरूको अधिकार र चेतनाको शिक्षाले उनीहरूको जीवनको मार्गदर्शक बन्न सक्ने बताए । उनले बिकट गाउँ बस्तीका बालबालिकाहरूका लागि बाल अधिकार चेतना कार्यक्रम परिमाणमुखी हुने विश्वास व्यक्त गरे ।
त्यस्तै बाल अधिकारी सम्बन्धी सचेतना शिविरमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक नगर प्रमुख बलिराम खड्काले बालबालिकालाई सचेतना जगाउँदै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने बताए । उनले द्धन्द्धकालमा मात्र नभएर इन्सेकले जनताको जनजीवकीकाका सवाललाई प्राथमिकता साथ उठाएको भन्दै धन्यवाद दिए । अनौपचारिक सेवा केन्द्र इन्सेकका जिल्ला प्रतिनिधि अम्मर सुनारले बाल अधिकार सम्बन्धी सचेतना शिविर,किशोर किशोरीलाई आत्मरक्षा तालीम लगायतका विभिन्न क्रियाकलापहरू गर्दै आएको बताए ।