दैलेखमा पाँच प्रतिशतले बढ्यो सुन्तला उत्पादन
दैलेख : दैलेखमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष पाँच प्रतिशतले सुन्तला उत्पादन बढेको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ । कृषि विकास कार्यालयका प्रमुख घनश्याम कार्कीले अघिल्लो आर्थिक वर्षमा जिल्लाभर छ सय ११ हेक्टरमा खेती गर्दा पाँच हजार ९८५ मेट्रिक टन उत्पादन भएको र यो वर्ष ६३५ हेक्टरमा खेती गर्दा छ हजार ३२३ मेट्रिक टन सुन्तला उत्पादन भएको बताए ।
दैलेखमा पछिल्ला वर्षहरूमा सुन्तला खेतीको क्षेत्र विस्तारसमेत गरिँदै आएको कार्यालय प्रमुख कार्कीले बताए । उनले भने अझै पनि जिल्लामा गरिएको सुन्तला खेती अनुसार अपेक्षित उत्पादन भने हुन सकेन ।
कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ झलक भण्डारीले पकेट क्षेत्रमा नै अपेक्षा गरे अनुसार सुन्तला उत्पादन नभएको बताए । उनले भने दैलेखको दुल्लु सुन्तलाको पकेट क्षेत्र मानिन्छ । त्यहाँ सोचेअनुरूप उत्पादन भएन गुराँस र डुुङ्गेश्वर र भगवतीमाई गाउँपालिकामा भने उत्पादन बढेको छ । विज्ञ भण्डारीले थपे सुन्तला उत्पादन बढ्नुभएमा असिना नपर्नु र सुन्तलामा रोग नलाग्नु र कृषकलाई विभिन्न तालिमका कारण पनि यो सफलता प्राप्त भएको हो ।
जिल्लामा उत्पादन भएकोमध्ये झन्डै ५० प्रतिशत सुन्तला बिक्री भइसकेको छ । यस वर्ष रोग किरा, हावाहुरी र असिना पानीले सुन्तलामा असर नगर्दा उत्पादन राम्रो भएको किसानहरूले बताएका छन् । सुन्तला बिक्रि गर्न दैलेख सदरमुकाम पुग्नुभएकी दुल्लु १३ की गंगा सार्कीले मौसमको अनुकूलताका कारण पनि उत्पादन बढेको बताइन ।
उनले कतिपय सुन्तला बारीमै बिक्री भएको र केही सुन्तला बजारमा ल्याएर बिक्री गरिएको बताइन । उनले भनिन सुन्तलाको मूल्य प्रतिकिलो ८० रुपियाँसम्म बिक्री गरेको र पाँच रुपियाँ दरले बिक्री गरेकी छु ।
जिल्लाको दुल्लु नगरपालिका,गुराँस गाउँपालिका,भगवतीमाई गाउँपालिकामा सुन्तला धेरै उत्पादन हुन्छ । यस वर्ष जिल्लामा सुन्तला लगाइने क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादन र उत्पादकत्वसमेत बढेको बताइएको छ ।