Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

मतदातालाई धन्यवाद दिन पराजित र विजेता दुवै गाउँमा


कमल शर्मा
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी भएका उम्मेदवार खुसी साट्न गाउँ गाउँमा जाँदा उहाँहरू सँग प्रतिस्पर्धामा रहेको अन्य दलका उम्मेदवार मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुग्नुभएको छ । दैलेखमा रहेको दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा मध्ये दुई प्रतिनिधि सभा र तीन प्रदेश सभामा सत्ता गठबन्धन र एक प्रदेश सभामा नेकपा एमाले विजयी भएको थियो ।

दैलेख निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभामा सत्ता गठबन्धन दल एकीकृत समाजवादी पार्टी बाट उम्मेदवार हुनुभएका अम्मर बहादुर थापा र दैलेख निर्वाचन क्षेत्र १ (क) र (ख) प्रदेशमा विजयी भएका नेपाली काँग्रेसका कृष्ण कुमार बिसी र पूर्ण बहादुर खत्रीले गाउँ गाउँमा विजयी सभा गर्दै मतदाता सँग खुसी साट्न गाउँ गएका छन ।

गुराँस गाउँपालिका –८ को धरमपोखरामा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले निर्वाचनको बेला राजनैतिक प्रतिष्पर्धा हुने गरे पनि जिल्लाको विकासका लागी सबै पार्टी सँग समन्वय गरेर अगाडी बढ्ने बताए । उनले जनताको विश्वासलाई टुट्न नदिन आफू लागी पर्ने बताए ।

नेपाली काँग्रेसका पार्टी सभापति मणिराम रेग्मीले जनताले विश्वास गरी विजयी बनाए सँगै उहाँहरूलाई धन्यवाद दिन सत्तागठबन्धनदलहरु सँगै कार्यक्रम गरी मतदातालाई धन्यवाद दिएको बताए । उनले नेकपा एमालेको विरासत भत्काएर आफ्नो पार्टी र गठबन्धन दलले विजयी प्राप्त गरेपछि निर्वाचन क्षेत्र नः १ का विभिन्न पालिकाका सदरमुकाम र वडामा पुगेर धन्यवाद ज्ञापन गरेको बताए ।

दैलेख निर्वाचन क्षेत्र नः २ को प्रतिनिधि सभामा सत्ता गठबन्धन दल नेपाली काँग्रेस बाट उम्मेदवार दिक्पाल कुमार शाही र प्रदेश सभा(क) मा निर्वाचित भएका घनश्याम भण्डारी समेत प्रत्येक गाउँमा पुगेर मतदाता सँग खुसी साटिरहेका छन । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र बाट निर्वाचन क्षेत्र न २ को (ख) प्रदेशमा उम्मेदवार बन्नुभएका योगेन्द्र शाही निर्वाचनमा पराजित भए पनि पुन मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिका र वडाहरूमा पुगेका छन ।

माओवादी केन्द्रका नेता सुशील रावतले निर्वाचनमा झिनो मतान्तरले पराजय भए पनि जनताले आफ्नो पार्टी र उम्मेदवारलाई दिएको मतको सम्मान गर्न आफूहरू जनताका बिचमा आएको बताए । उनले निर्वाचन जितेपछि वा पराजय भएपछि जनताका बिचमा नआउने गुनासो लाई सम्बोधन गर्न समेत घर भेट तथा धन्यवाद कार्यक्रम गरिरहेको बताए ।

दैलेख निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका नेकपा एमाले दैलेखका अध्यक्ष एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य रबन्द्रिराज शर्माले पाँच दलीय गठबन्धन एकातिर हुँदा एक्लै निर्वाचनमा जाँदा समेत आफ्नो पार्टी झिनो मतान्तरले पराजय भोग्नुपरेको बताउँदै मतदातालाई धन्यवाद दिन गाउँमा पुगेको बताए । उनले निर्वाचन क्षेत्र नः १मा रहेको छ वटै पालिका कमिटीको बैठक राखेको बताए । उनले भने हामी झिनो मतले पराजित भयौ अव हामी गाउँ गाउँमा गएर नेता तथा कार्यकतालाई प्रशिक्षण दिने पार्टी सङ्गठन मजबुत बनाउन लागी पर्छौ । दैलेख निर्वाचन क्षेत्र नः १को प्रतिनिधि सभा सदस्यमा ६५० र निर्वाचन क्षेत्र नः २को प्रतिनिधि सभा सदस्यमा १५३ मतले एमाले पराजित भएको थियो । जिल्लाका दुई प्रतिनिधि सभा र तीन प्रदेश सभामा सत्तागठबन्धनले विजयी हुँदा माओबादी केन्द्रको भागमा परेको दैलेख २ को प्रदेश(ख)मा मात्र पराजित भएको थियो ।