नमुना मतदान मार्फत मतदाता शिक्षा सिकाइँदै
दैलेख : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बदर मत संख्या कम गर्न नमुना मतदान मार्फत मतदाता शिक्षा सिकाउन सुरु गरिएको छ । मङ्गलवार जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको कार्यालय डाँडापराजुलमा नमुना मतदान मार्फत मतदाता शिक्षा सिकाउने कार्य सुरु भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन नमुना मतदानको अभ्यास थालेको बताइन । उनले दैलेखका सात गाउँपालिका र चार नगरपालिकासहित ११ वटै स्थानीय तहहरूमा नमुना मतदानको अभ्यास मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताइन । उनले भन्नि मङ्गलवार डुगेश्वर गाउँपालिकामा गरिएको आज बुधवार नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकामा नमुना मतदानको अभ्यास गर्दछौ ।
मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय तहहरूमा मतदाता शिक्षा अनुगमन अधिकृत तोकिसकेको र मतदाता शिक्षा अनुगमन अधिकृतले मतदाता शिक्षा कार्यक्रमको स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनको मान्यता अनुसार नियमित अनुगमन गरी निर्वाचन अधिकारीलाई प्रतिवेदन पेस गर्ने निर्वाचन अधिकारी काउँचाले बताइन । उनले भनिन कात्तिक १८ गते देखी मङ्सिर १ गते सम्म स्थानीय तहले प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवक नियुक्त गरी घरदैलो प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्ध वृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । दैलेखमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यका लागी ३३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।