Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

शान्तिपूर्ण निर्वाचनका लागी आचारसंहितामा कडाइ गर्न सुझाव


दैलेख : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण निर्वाचन सपन्न गर्नका लागी निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्नु पर्ने नागरिकहरूले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा जिल्लाको डुगेश्वर गाउँपालिका –५ अवलपराजुलमा आयोजना गरिएको शान्तिपूर्ण निर्वाचनमा राजनैतिक दल, उम्मेदवार र आम नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नागरिकहरूले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्नु पर्ने सुझाव दिएका छन् ।

मङ्गलवार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, प्रहरी प्रमुख(डिएसपी) भुवनेश्वर प्रसाद शाह,कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख लगायतको टोली सँग उनीहरूले निर्वाचन आचारसंहिता पालना गर्न राजनैतिक दल, उम्मेदवारलाई बढी जिम्मेवार बनाउनु पर्ने बताएका हुन ।

डुगेश्वर गाउँपालिका –५ का कृष्ण न्यौपानेले निर्वाचनको बेला मात्र नागरिकका बिचमा आउने र निर्वाचनमा मतदातालाई प्रलोभन देखाउने समस्याले निर्वाचनमा समस्या हुने गरेको बताए । उनले स्थानीय स्तरमा राजनैतिक आस्थामा आधारमा झैझगडा गर्ने कार्यकर्ता र नेताहरू मिल्ने समस्याका कारण राजनैतिक दल प्रतिको निष्ठा समेत बिस्तारै घट्दोक्रममा रहेको बताए । उनले भने जिल्लाको सुरक्षा निकायले समेत सबै राजनैतिक दल, उम्मेदवारलाई विशेष निगरानीमा राखी निर्वाचन आचारसंहिता पालना गरे नगरेको हेर्नु पर्ने हुन्छ ।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै नागरिकको भूमिका महत्त्वपूर्ण हुने भन्दै कुनै समस्या भएको खण्डमा खबर गर्न आग्रह गरेका छन । उनले निर्वाचनको समयमा राजनैतिक आस्थाका आधारमा घटनाहरू घट्न नदिन सबै नागरिक जिम्मेवार बन्नु पर्ने बताए । उनले पार्टी, उम्मेदवारहरूले आचारसंहिता उलङ्घन गरेको खण्डमा तत्काल उजुरी गर्न समेत नागरिकलाई आग्रह गरे । जिल्लाका ११ पालिकामा शान्तिपूर्ण निर्वाचन गर्नका लागि नागरिक सँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने प्रजिअ हमालले बताए ।

प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद शाहले निर्वाचनको समयमा हुने विभिन्न गतिबिधिहरुको अध्ययन अवलोकन गरिरहेको र प्रहरीलाई आम नागरिकले सहयोग गर्नुपर्ने बताए । उनले नागरिक बिना बर्दीको प्रहरी भएको भन्दै शान्तिपूर्ण निर्वाचन मात्र नभएर समाजलाई शान्ति सुव्यवस्था कायम सधैँ खबरदारी गरिराख्नु पर्ने बताए ।

डुगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले स्थानीय निर्वाचन समेत कुनै विवाद नभएको पालिकामा यस पटक पनि विना विवाद निर्वाचन सम्पन्न हुने बताए । उनले भने निर्वाचन स्वच्छ मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र जनप्रतिनिधि लाग्नु प्रमुख उद्देश्य हुन्छ ।