स्वर्ण पदक विजेता चन्द्रकला पुरस्कृत
दैलेख : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब बाट प्रतिनिधित्व गरी बक्सिङ तर्फ स्वर्ण पदक जित्ने खेलाडी चन्द्रकला थापालाई सम्मान गरिएको छ । जिल्लाको भगवतिमाई गाउँपालिका र भगवतीमाई खेलकुद विकास समितिले नगद पुरस्कार र प्रमाण पत्रले सम्मान गरेको हो । भगवतीमाई गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष शमशेर बहादुर खड्काले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई कांस्य र स्वर्णपदक प्राप्त गरी गाउँपालिकाको नाम राख्न सफल खेलाडीलाई प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको अवसर पारेर नगद ३५ हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरिएको बताए ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले जिल्ला र पालिकाको नाम उच्च राख्न बक्सिङ खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी भएको बताए । खेल जगत् बाट राष्ट्र जिल्ला र पालिकाको नामलाई सधैँ विश्वमाझ चिनाउन सफल हुने खेलाडीलाई सधै सम्मान गरिने बताए ।
स्वर्ण पदक विजेता खेलाडी चन्द्रकला थापाले गाउँपालिका र गाउँपालिकाको खेलकुद विकास समितिलाई सम्मान गरेको प्रति धन्यवाद दिँदै आगामी दिनमा हुने प्रतियोगिता समेत सफलता प्राप्त गर्न प्रेरणा मिलेको बताइन । उनले दुर्गमा गाउँमा जन्मिएर साग खेलमा सहभागी भएर कांस्य पदक र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएको बताउँदै आगामी दिनमा अझै मेहनत गर्ने बताइन ।