Loading... आजः बिहिबार, मंसिर १२, २०८२
Trending

दैलेख १ मा त्रिपक्षीय प्रतिस्पर्धा


दैलेख  :  आगामी मंङसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । नेकपा(एमाले) बाट रबन्द्रिराज शर्मा सत्ता गठबन्धनका उम्मेदवार अम्मर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती कुमारी शाही बिच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

नेकपा(एमाले)का रबिन्द्रराज शर्मा प्रतिनिधि सभाका निवर्तमान सांसद हुन भने सत्ता गठबन्धन बाट उम्मेदवार बनेका एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मर बहादुर थापा कर्णाली प्रदेश सभा सदस्य हुँदै फ्लोरक्रस गरी कर्णाली प्रदेश सरकारको ६ महिने मन्त्री भइसकेका र कुन्ती कुमारी शाही सङ्घीय सरकारमा स्थानीय विकास राज्यमन्त्री भइसकेकी नेत्री हुन ।

बिस २०६४ मा नेकपा एमाले संविधान सभाको निर्वाचनमा पराजित हुँदा नेपाली काँग्रेस विजयी भएको थियो । बिस २०७० सालको संविधान सभाको दोस्रो निर्वाचन र २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभामा नेकपा एमाले विजयी भएको थियो । दैलेख निर्वाचन क्षेत्र नः १ मा रहेका छ वटा स्थानीय तह मध्ये बिस २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नारायण,महावु,भगवती माई गाउँपालिका नेकपा एमाले र गुराँस,नौमुले, डुगेश्वर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो ।

नेकपा एमाले बिभाजन पछि बिस २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले नारायण नगरपालिका,गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा निर्वाचन जितेको छ । नेपाली काँग्रेसले महावु गाउँपालिका र भगवतिमाई गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्रले दुई पालिका प्रमुखमा विजयी भएको छ ।

नेकपा एमालेले भने पार्टी विभाजन हुँदा समेत तीन वटा पालिकामा विजयी भएको र तीन पालिकामा सम्मान जनक पराजय भएका कारण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो विजयी हुने बताएको छ । नेकपा एमाले बाट उम्मेदवार बनेका रबन्द्रिराज शर्माले आफ्नो जीत निश्चित भएको बताए । उनले नेपाली काँग्रेस बाट प्रतिनिधि सभा उम्मेदवार नभएका कारण काँग्रेस निकट मतदाता र माओवादीका केही मतदाताले सहयोग गर्ने भएपछि आफू निर्वाचन जित्नेमा कुनै शङ्का नरहेको बताए । यहाँ माओबादी बाट पनि प्रतिनिधि सभा उम्मेदवार छैन ।

सत्ता गठबन्धन बाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मर बहादुर थापाले गठबन्धनको मत मात्र सुरक्षित गर्न सकेमा आफू विजयी हुने बताए । उनले गठबन्धनमा रहेका दल इमानदारीका साथ लागेको खण्डमा निर्वाचन सहजै जित्ने दाबी गरे ।

राप्रपा नेपालकी महामन्त्री रहेकी कुन्ती कुमारी शाही यस पटक आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताइन । उनले नेकपा एमाले विभाजन भएको र काँग्रेसले आफ्नो उम्मेदवार नभएका कारण आफूले मत पाएर विजयी हुने बताइन । तीन पार्टीका उम्मेदवारहरूले आ–आफू जित्ने दाबी गरेका कारण दैलेख १ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । एमालेका रबन्द्रिराज शर्मा र एकीकृत समाजवादीका अम्मर बहादुर थापा भने २८ वर्ष सँगै काम गरेका सहकर्मी हुन ।