Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

प्रतिनिधिसभाको उम्मेदवार रहेका राजु गुरुङको उम्मेदवारी खारेज

काठमाडौं  :  सत्ता गठबन्धनबाट रुपन्देही(२ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने गरी आदेश दिएको हो ।

आदेशमा भनिएकोछ, अतः कानूनद्धारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्वन्धी अयोग्यता निवेदक राजु गरुङमा कायम रहेको देखिदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ, यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन। अरु कानून बमोजिम गर्ने ।

सर्वोच्चको फैसलासँगै कालो सूचीमा नाम रहेकाले गुरुङ उम्मेदवार हुन नपाउने भएका छन् । रुपन्देही(२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।