जेष्ठनागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता
दैलेख : महावु गाउँपालिकाले गाउँपालिकामा रहेका जेष्ठनागरिक,एकल महिला,अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । जेष्ठनागरिकलाई बैकमा लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको गुनासो आएपछि पालिकाले बैकको सहकार्यमा सामाजिक सुरक्षा भत्ता घरदैलोमा वितरण गर्ने सुरु गरेको हो ।
ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षा भत्ता लिन सहज होस भन्ने उद्देश्यले बैङ्कसँगको समन्वयमा घरदैलोमै सेवा पु¥याइएको गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङले बताए । उनले सामाजिक सुरक्षा भत्ता दुरुपयोग नहोस् भनेर बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरे पनि टाढा टाढाका जेष्ठनागरिक,एकल महिला,अपाङ्गता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न कठिनाइ भएपछि बैक सँगको सहकार्यमा घरदैलोमै सेवा दिएको बताए । उनले भने बैङ्कमा सेवाग्राहीको चाप, भौगोलिक विकटता, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी वडा स्तरमै भत्ता दिने व्यवस्था गरेका हौँ ।
महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रत्येक वडाकार्यलयमा घुम्ती शिविर आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए ।उनले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा रकम हिनामिना हुने गरेपछि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरण बैक मार्फत गर्ने निर्णय भए पनि जेष्ठनागरिकहरू,वडाका जनप्रतिनिधि र कर्मचारीलाई मन्जुरीनामा दिएपछि बैङ्कसँगको सहकार्यमा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । उनले भने पालिकाले बैकलाई सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गर्न पठाउने रकम जम्मा भएपछि बैकका प्रतिनिधि लिएर वडामा पुगेर भत्ता वितरण गर्ने हो ।
महावु गाउँपालिका–१ का ७६ बर्षिया तेज बहादुर थापाले सामाजिक सुरक्षा भत्ता वडाकार्यलयमै बुझ्न पाउँदा खुसी भएको बताए । उनले भने बैक टाढा हुँदा भत्ता लिन जान एक दिन पुरै लाग्थ्यो, बैङ्कमा लाइन लाग्नुपर्ने बाध्यता थियो त्यो बाध्यता हटेको छ ।
एनसिसी बैक महावुका शाखा प्रबन्धक कमल भण्डारीले गाउँपालिकाका अनुरोधका आधारमा रकम भुक्तानी गरेर वडामै भत्ता वितरण गरिएको बताए । उनले बैकमा कामको चाप कम भएको अवस्थामा वडा कार्यालय र प्रहरी चौकी रानीवनको सहकार्यमा वडामै पुगेर जनप्रतिनिधिको रोहवरमा भत्ता वितरण गर्ने बताए ।