Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

स्वर्ण पदकका नेपाल पुलिस र एपीएफ क्लब भिड्ने


काठमाडौं  :  नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट तर्फको स्वर्ण पदकका लागि विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन्। पोखरामा सोमबार भएको सेमिफाइनलमा पुलिसले बागमती प्रदेशलाई ३६ रनले तथा एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ६९ रनले पराजित गर्दै फाइनल पुगेका हुन्।

प्रतियोगितामा पुलिसले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनायो। बागमतीका लागि सुमन खतिवडाले २३ र कप्तान अस्मिना कर्माचार्यले १८ रन बनाइन्। आरती बिडारीले अविजित ११ रन बनाइन्। बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्। पुलिसले १८ रन अतिरिक्तमा दिएको थियो।

पुलिसका लागि कविता कुँवरले ३ तथा ईश्वरी बिष्टले २ विकेट लिइन्। कप्तान रुविना क्षेत्री र संगिता राईले समान १र१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १२३ रन बनाएको थियो।

त्यस्तै प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब पनि लुम्बिनी प्रदेशलाई ६९ रनले पराजित गर्दै फाइनल पुगेको हो। एपीएफले दिएको १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी १८ ओभर २ बलमा अलआउट हुदै मात्र ६० रन बनायो। लम्बिनीका लागि सुस्मिता बजगाईँले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर ११२ रन बनाएको थियो। एपीएफका लागि ज्योति पाण्डेले अविजित ६९ रनको अर्धशतकीय इनिङ खेलिन्। ममता चौधरीले १६ रन जोड्दा रोमा थापाले अविजित १२ रन बनाइन्। कप्तान सिता राना मगरले ११ तथा इन्दु बर्माले ६ रन बनाइन्। लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा मनिसा रानाले १ विकेट लिएका थिए।