बन्दसूचीमाथि दलहरूले संशोधित सूची बुझाए
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ यसअघि निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले संशोधित सूची बुझाएका छन्।
आयोगले संशोधित सूची बुझाउन ती दललाई सात दिनको समय थियो। आयोगका राजनीतिक दल व्यवस्थापन शाखाका उपन्याधिवक्ता एवं गुरु प्रसाद वाग्लेले आइतबार अन्तिम दिन यसअघि समानुपातिक सूची बुझाएका दलहरूले संशोधित सूची बुझाएको जानकारी दिए।
आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि यही असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दललाई आग्रह गरेको थियो। संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने वाग्लेले जानकारी दिए।
यस्तै यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने कार्यतालिका छ।
असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, आगामी कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ।