कर्णाली साहित्य समाजद्धारा स्रष्टा सम्मानित
सुर्खेत : कर्णाली साहित्य समाजले तिनजना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियरा, कर्णाली साहित्य समाज साधना सम्मान प्रा डा राजाराम सुवेदी र २५ हजार राशीको पुरस्कार कलाकार कुलमान नेपालीलाई प्रदान गरिएको हो ।
आख्यानको नवीन विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसका समाजमा विद्धमान पारम्परिक कुप्रथा, रूढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आम नागरिकहरुका दुःख, पीडा र भोगाइहरुलाई उद्घाटित गर्न सफल कथाहरु जियरामा समेटिएकोले जियरालाई समेटिएको बताइएको छ ।
यस्तै कर्णाली साहित्य समाज साधना सम्मान ‘तीन दशकदेखि विशेषगरी कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत रही कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४) बाइसे राज्यको ऐतिहासिक रूपरेखा (२०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको इतिहास (२०५८) जस्ता ऐतिहासिक महत्वका बहुमूल्य कृतिहरुको श्रृजनाद्वारा कर्णाली प्रदेशको इतिहासलाई अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाएकोमा इतिहासकार प्राध्यापक डा राजाराम सुवेदीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले बताए ।
यसका साथै संस्थाले स्थापना गरेको रु २५ हजार राशीको पुरस्कार कर्णाली प्रदेशका विभिन्न लोकनृत्यहरुलाई देशभर चिनाउन सफल कलाकार कुलमान नेपालीलाई प्रदान गरिएको हो । नेपाली २०३९ सालदेखि २०७६ सालसम्म आइपुग्दा २५ पटक राष्ट्रिय प्रतियोगीतामा प्रथम स्थान हासिल गर्न सफल वरिष्ठ राष्ट्रिय नृत्य निर्देशक, बन्धकी, बाटुली, गोर्खा पल्टन जस्ता सुपरहिट चलचित्रमा समावेश भएका नृत्यहरुका निर्देशक हुन् ।