Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

खर्च नबुझाउने उम्मेदवारलाई साढे ७ लाखसम्म जरिवाना

काठमाडौं  :  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवानासहित कारबाही गरेको छ। आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई साढे ७ लाखसम्म जरिवाना गर्ने भएको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्दै खर्च विवरण नबुझाउनेहरुलाई जरिवाना गर्ने भएको हो।

आयोगका अनुसार महानगरपालिकाको प्रमुख र उपप्रमुखको हकमा जनही ७ लाख ५० हजार, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित महिला सदस्यको हकमा जनही ३–३ लाख जरिवाना तोकिएको छ।

त्यस्तै उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको हकमा जनही ५ लाख ५० हजार, वडाध्यक्ष र सबै सदस्यहरुलाई जनही २ लाख ५० हजार जरिवाना तिराउने भएको हो। नगरपालिकाको प्रमुख र उपप्रमुखको हकमा जही ४ लाख ५० हजार र वडाध्यक्षसहित सदस्यहरुलाई जनही २ लाख जरिवाना आयोगले तोकेको छ। त्यस्तै गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्षलाई जनही ३ लाख ५० हजार र वडाध्यक्ष र सदस्यहरुलाई जनही १ लाख ५० हजार जरिवाना तोकिएको हो। आयोगले उक्त जरिवाना रकम आफ्नो बैंक खाता तिर्न निर्देशन दिएको छ।