निलम्बित प्रधानन्यायाधीश जबराको सकियो बयान
काठमाडौँ : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूले तयार पारेका ४३ वटै प्रश्नको बयान लिएको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न र मंगलबार जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधे संगै जवरा संग बयान लिने काम सकिएको हो । उनीसँग समितिले भदौ १५, १६ र १९ मा बयान लिएको थियो । अब जबरासँग प्रतिप्रश्न सोध्न बाँकी रहेको समितिले जनाएको छ । प्रतिप्रश्नका लागि बुधबार वा बिहीबार बोलाउने तयारी रहेको समिति सदस्य रेखा शर्माले जानकारी दिइन् ।
बयानका क्रममा जबराले आफू निर्दोष रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।
समितिले जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी गरेको छ । समितिका अर्का सदस्य प्रमोद साहका अनुसार ती व्यक्तिसँग पनि छलफल गरेपछि प्रतिवेदन तयार पारिने बताए । सदस्य साहले भने,जबराले नाम लिएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी छ । कसैले कसैमाथि आरोप लाउँदा पुष्टि हुने कुरा होइन ।
प्रतिनिधिसभाको कार्यकाल आगामी असोज १ मा सकिँदै छ । त्यसपछि समितिका सदस्यको पनि कार्यकाल सकिनेछ । बाँकी ५ दिनमा समितिले प्रतिवेदन तयार पारेर प्रतिनिधिसभाले महाभियोग प्रस्ताव टुंगो लगाउन कठिन छ । संविधानले प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले पास गरेपछि मात्रै प्रधानन्यायाधीश जबरा पदमुक्त हुन्छन् । तर महाभियोग प्रस्ताव ल्याएको सत्ता गठबन्धनसँग दुई तिहाइ मत छैन । त्यसैले महाभियोग प्रस्ताव तत्काल टुंग्याउन सभामा पेस हुने सम्भावना कम छ ।
प्रतिनिधिसभाको कार्यकाल सकिएपछि प्रस्ताव निष्क्रिय भएर जबरा अदालत फर्कन पाउँछन् कि निलम्बन निरन्तर रहन्छ भन्नेबारे स्पष्ट कानुनी व्यवस्था छैन । यसबारे संविधानविद्हरूका धारणा विभाजित छन् ।