आठ हजारभन्दा बढीमा डेंगु पुष्टि, पाँच जनाको मृत्यु
काठमाडौं : पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग प्रमुख डा गोकर्ण दाहालले यस अवधिमा डेंगु सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको बताए ।
पाँच जना मध्ये तीनजनाको मृत्यु डेंगुकै कारण भए पनि मृतक अन्य दुई जनाको मृत्यु डेंगुका साथै स्क्रब टाईफस र कडा खालको निमोनियाले भएको उनले जानकारी दिए । महाशाखामा अन्य दुई जना पनि डेंगुको कारणले मृत्यु भएको भन्ने प्रतिवेदन प्राप्त भएकाले अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार मृत्यु भएकामध्ये कैलाली, कान्ति, बाँकेस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र मेडिसिटी अस्पतालमा एक ÷एक जनाको मृत्यु भएको छ । कोभिड १९ सङ्क्रमण, भाइरल ज्वरो र डेंगु एकैसाथ देखिएकाले बेवास्ताका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो केही महिनादेखि काठमाडौं र ललितपुरलगायत देशभर डेंगु सङ्क्रमण बढ्दो क्रममा छ । हालसम्म ७५ जिल्लाबाट आठ हजार ३२७ जना डेंगु सङ्क्रमित पुष्टि भइसकेको छ । डेंगु सबैभन्दा बढी बागमती प्रदेशमा ६ हजार २०५ जना, लुम्बिनी प्रदेशमा १ हजार २८४, सुदूरपश्चिम प्रदेशमा २०६, प्रदेश १ मा २८२, मधेस प्रदेशमा १४४, गण्डकी प्रदेशमा १५०, कर्णाली प्रदेशमा ५६ जनामा डेंगु पुष्टि भएको छ । डेंगु सङ्क्रमण हाल दैनिक बढिरहेको समयमा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने हुँदा अझै केही समय सतर्क रहन चिकित्सकको सुझाव छ ।