Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

१० हजार ८ सय ८८ मतदानस्थल कायम

काठमाडौँ  :   निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदान स्थल कायम गरेको छ । निर्वाचन आयोगले मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी मतदान स्थल पुनरावलोकन गरेको जानकारी दिएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदानस्थल संख्या पुनरावलोकन गरिएको हो । २०७९ साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदान स्थल पुनरावलोकन गरिएको आयोगले जानकारी दिएको छ ।

यसअघि देशभर १० हजार ७५६ मतदान स्थल रहेको र त्यसमा पुनरावलोकन गरिएको आयोगले जनाएको हो ।मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको छ ।