युवा सहभागिता सुनिश्चित गर्न सङ्गठित
दैलेख : स्थानीय सरकारले गाउँको समृद्धिका लागि नीति र विकासमा जोड्न आनाकानी गरिरहेको बेला स्थानीय शासन प्रणालीमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न युवाहरू सङ्गठित हुने गरेका छन् । मुलुकको शान्ति विकास र समृद्धिको लागि युवाहरूको भूमिका महत्त्वपूर्ण भए पनि स्थानीय सरकारले युवाहरूको सहभागिता बिना नै नीति तथा कार्यक्रम ल्याउने गरेको बताउँदै दैलेखको गुराँस गाउँपालिका,डुगेश्वर गाउँपालिका,सुर्खेतको लेकबेसी नगरपालिका,सिम्ता गाउँपालिका र जाजरकोटका भेरी नगरपालिका युवाहरू सहभागिता सुनिश्चित गर्न आफूहरू युवा सञ्जाल गठन समेत गरेका छन् ।
युरोपियन युनियनको र हेल्भटास नेपालको आर्थिक सहयोग र महिला सशक्तीकरण सञ्च नेपालको सहकार्यमा संचालन भएको स्थानीय शासन प्रक्रियामा युवा संलग्नता परियोजनाको सहयोगमा युवाहरू युवा सञ्जाल गठन गरी सङ्गठित हुने गरेका हुन ।
महिला सशक्तीकरण मञ्च दैलेखका प्रादेशिक संयोजक डन्डीराज उपाध्यायले युवाहरूको क्षमता विकास गरी स्थानीय शासन प्रक्रियामा युवाहरूको सहभागिता बढाउन उक्त परियोजना संचालन भएको बताए । उनले स्थानीय पालिकामा युवा संसद् संचालन गर्ने,गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा सहभागिता अभिवृद्धि गर्ने, पालिका सँगै नियमित युवा सहभागिता बारे बहस गर्ने जस्ता क्रियाकलाप गर्ने बताए । उनले दैलेखको गुराँस गाउँपालिकामा ११ सदस्यीय, डुङ्गेश्वर गाउँपालिकामा नौ सदस्यीय, सुर्खेतको लेकवेशी नगरपालिकामा १५ सदस्यीय, सिम्तागाँउपालिकामा १३ सदस्यीय र जाजरकोटको भेरी नगरपालिकामा १५ सदस्यीय युवा संचालन गठन गरिएको जानकारी दिए ।
महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले परियोजनाले नीति निर्माण तहमा युवा सहभागिता अभिवृद्धि गर्ने,युवा नीति निर्माण गरी युवामैत्री कार्यक्रम संचालन गर्ने र पालिकाहरुले युवाहरूलाई रोजगारीमा जोड्ने प्रमुख उद्देश्यले लिएर काम गरेको बताइन ।