ओलीको विश्लेषण : गठबन्धन आफैँ टुट्छ
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कतिपयले सत्तारुढ गठबन्धन फोडौँ भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताए।
उनले गठबन्धनमा आवद्ध दलहरु सबै स्वार्थी पूँजीवादी बाटोमा हिँडेकाले उनीहरु कहिल्यै एकतावद्ध हुन नसक्ने तर्कसमेत गरे। सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताए। देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरुलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाइ थियो।
‘सबभन्दा अगाडि त एउटा प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ। त्यो अनेक हिसावले हामीलाई असफल बनाउन आउने, हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ। त्यसलाई हामीले मिल्काउनु पर्नेछ। कतिले भन्छन–यो गठबन्धन फोडौं’ उनले भने, समयक्रममा गठबन्धन आफैं फुट्छ। स्वार्थी पूँजीवादी बाटो हिँडेर कहिल्यै एकतावद्ध हुने सम्भावना नै हुँदैन। यो स्वार्थको खेल हो यीनीहरुको। उद्देश्यमा, गन्तव्यमा एकता होइन।’