करार कर्मचारी हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी
दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई करार सम्झौता नवीकरण नगरिएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले गाउँपालिकामा तालाबन्दी गरेका हुन् । करारका कर्मचारीलाई हटाउने निर्णय सच्चाउनुपर्ने माग राख्दै करारका कर्मचारीहरूले गाउपालिकामा तालाबन्दी गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकले करारमा कार्यरत कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नवीकरण नहुने निर्णय गरेको थियो । डुगेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीले करार कर्मचारी मध्ये सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरू, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालक बाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका स्कर्पियो चालक एक जना, विद्यालय तर्फको गेट पाले, माध्यमिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नवीकरण नहुने बताए ।
यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरभाइजर रकचना खानेपानी आयोजनामा कार्यरत पलम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नवीकरण नहुने प्रमुख प्रशासकीय अधिकृत डिसीले बताए ।
गाउँपालिकाले करार सम्झौता नहुने कर्मचारीहरूका लागि आफ्नो जिम्मामा रहेको नगदी, जिन्सी सामग्री बरबुझारथ गर्न सूचना जारी गरेको थियो। निर्णयअनुसार गाउँपालिकामा विभिन्न पदमा करारमा कार्यरत ४२ जना कर्मचारीहरूको करार सम्झौता नवीकरण नहुने देखिन्छ । गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले आवश्यकतै नभएका स्थानमा कर्मचारी राखेको र राज्यको रकम दुरुपयोग भएपछि कार्यपालिकाको बैठक बाट करार सम्झौता नवीकरण नगर्ने निर्णय गरिएको बताए ।