Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

उपसभामुखमा पुष्पा भुसाल र विद्या भट्टराईको मात्र उम्मेदवारी

काठमाडौं :  भोलि शुक्रबार हुने प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार निर्धरित समय भित्रमा दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्। जसमा सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) की सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन्।

भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित एमाले सांसद हुन्। उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्। यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन्।

भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ। संसदमा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने लगभग पक्का छ। प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन्।