तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको अन्त्येष्टी
काठमाडौँ : तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको अन्त्येष्टी गरिएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आजै आफन्तलाई बुझाइएको थियो। शव बुझेपछि आ–आफ्नो धार्मिक परम्पराअनुसार उनीहरुको अन्तिम संस्कार गरिएको हो।
धनुषाको गोले परिवारका सात जनाको बिहीबार स्वयम्भूमा बौद्ध पराम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। धनुषाका राजनकुमार गोलेसहित उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको विमान दुर्घटनामा मृत्यु भएको थियो।
यस्तै श्रेष्ठ परिवारका चार जनाको पनि आजै पशुपतिमा अन्तिम संस्कार गरिएको छ। गृहजिल्ला गोरखामा उनीहरुको अन्तिम संस्कार गर्ने भनिए पनि पशुपतिमै अन्त्येष्टी गरिएको हो। उक्त परिवारका गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठको मृत्यु भएको थियो।
यस्तै दुर्घटनामा ज्यान गुमाएका चार जना भारतीयको पनि पशुपतिमै अन्तिम संस्कार गरिएको छ। भारतको महाराष्ट्रबाट आएका अशोक त्रिपाठी, उनकी श्रीमती वैभवी बांदेकर र उनीहरुका एक छोरा र छोरी गरी चार जनाको विमान दुर्घटनामा ज्यान गएको थियो। उनीहरुको शव बुझ्न भारतबाट दुई जना आफन्त आएका थिए। नेपालस्थित भारतीय दूतावासको समन्यवमा उनीहरुको पशुपतिमै अन्तिम संस्कार गरिएको हो।
यस्तै दुर्घटनामा मृत्यु भएका विमानका क्याप्टेन प्रभाकर घिमिरे र को–पाइलट उत्सव पोखरेलको पनि आजै पशुपतिमा अन्तिम संस्कार गरिएको छ। दुई जना जर्मन नागरिकको अन्तिम संस्कार भएको छैन। उनीहरुको शव जर्मनी पठाउने तयारी भइरहेको बताइएको छ।
आइतबार पोखराबाट उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको थियो। उक्त विमान सोमबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो।