नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौँ : सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। शनिबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन्। नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने बाटो खुलेको छ। सरकारले आइतबार (भोलि) आगामी आर्थिक वर्ष २०७९०८० का लागि बजेट ल्याउँदैछ।