Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

समाजवादीका उम्मेदवार सहित गाउँपालिका कमिटी एमालेमा समाहित

दैलेख  :  निर्वाचनको माहोल दैलेखका ११ पालिकामा तातिएको छ । गठबन्धन दलले भागबण्डा गरे अनुसार स्थानीय पालिकामा उम्मेदवारी दिएको नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार नेपाली काँग्रेस र माओबादी केन्द्रले धोका दिएको भन्दै बिज्ञप्ती जारी गर्दै नेकपा एमालेमा समाहित हुने अभियान चलिरहेको छ । बुधवार दैलेखको ठाटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)को सिंगो गाउँपालिका कमिटी नेकपा एमालेमा समाहित भएको छ।

बुधवार एमाले ठाटिकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) गाउँपालिका कमिटी अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टी ठाटीकाँध गाउँपालिका कमिटी एमालेमा समाहित भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति, प्रगति र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यको लागि पार्टी एकताको विकल्प नभएको ठहर गर्दै समाजवादी पार्टीको गाउँपालिका कमिटी एमालेमा समाहित भएको उल्लेख गरिएको छ।

‘स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निष्कृय रहने र नेकपा एमालेतर्फका उम्मेदवारी दिएका उम्मेदवारहरूलाई विजयी गराउन परिणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउँदै नेकपा (एकीकृत समाजवादी), नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटीमा पार्टी एकतासहित समाहित भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, आठविस नगरपालिकामा (एकीकृत समाजवादी) पार्टी परित्याग गर्दै पाँच जना एमालेमा प्रवेश गरेका छन्। समाजवादीका तीन जना वडा सदस्य उम्मेदवार सहित पाँच जना एमालेमा प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेहरूमा समाजवादी पार्टीको तर्फबाट महिला सदस्य उम्मेदवार पाना माझी, दलित महिला सदस्य उम्मेदवार सुर्जा विक र खुल्ला सदस्यका उम्मेदवार श्याम बहादुर माझी रहेका छन्। श्याम बहादुर नेकपा (एकीकृत समाजवादी) पार्टीको वडा नंबर ४ का अध्यक्ष समेत हुन्।
समाजवादीका युवा नेता वीरेन्द्र माझी र समाजवादी पार्टी निकट अनेरास्वियूका केन्द्रीय सदस्य निराजन माझी सहित पाँच जनाले एमाले प्रवेश गरेका एमाले आठविस ४ का अध्यक्ष जनक माझीले बताए।