पाँच पालिकामा त्रिपक्षीय, दुईमा द्विपक्षीय प्रतिस्पर्धा
दैलेख : जिल्लाका सात गाउँपालिका मध्ये पाँच गाउँपालिका त्रिपक्षीय र दुई द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । पाँच दलीय गठबन्धनको निर्देशन विपरीत नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले छुटा छुटै उम्मेदवारी दर्ता गराएपछि जिल्लाका अधिकाँस पालिकामा त्रिपक्षीय र द्विपक्षीय प्रतिस्पर्धा हुने भएको हो । जिल्लाका सात गाउँपालिका मध्ये महावुु गाउँपालिका, भगवतिमाई गाउँपालिका, ,गुराँस गाउँपालिका, नौमुले गाउँपालिका, ठाटिकाँध गाउँपालिका त्रिपक्षीय र डुगेश्वर गाउँपालिका र भैरवी गाउँपालिकामा द्विपक्षीय प्रतिस्पर्धा हुने भएको हो ।
महावु गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको थियो । काँग्रेसका स्थानीय नेताहरूले पाँच दलीय गठबन्धनको निर्णय नमान्ने भन्दै गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि नेकपा एकीकृत समाजवादी पार्टीले काँग्रेसकै महिला नेतृलाई समाजवादी पार्टीमा प्रवेश गराएर उपाध्यक्षमा उम्मेदवार बनाएको छ । एकीकृत समाजवादी बाट अध्यक्षमा जङ्ग बहादुर शाही र उपाध्यक्षमा पुण्य प्रभा दशौदीलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले काँग्रेसका पुराना नेता लक्ष्मण गुरुङलाई अध्यक्ष र २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपविजेता बन्नुभएकी मञ्जु पाण्डेलाई पुन उम्मेदवार बनाएको छ ।
२०७४ को निर्वाचनमा नेकपा(एमाले) बाट अध्यक्षमा निर्वाचित भएका जङ्ग बहादुर शाही र उपाध्यक्षमा निर्वाचित भएकी प्रेम कुमारी बुढा एकीकृत समाजवादीमा लागेपछि एमालेले महावु –१ को वडाध्यक्षमा निर्वाचित भएका हरि प्रसाद उपाध्यायलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा भने दुर्गा सिलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा छिनो मतान्तरले उपविजेता बनेको काँग्रेसले यो पटक निर्वाचन जित्ने ठुलो आँश गरेपछि काँग्रेसकै नेता एकीकृत समाजवादीमा लागेपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै नौमलुे गाउँपालिकामा गठबन्धनको निर्णय अनुसार नेपाली काँग्रेसको भागमा अध्यक्ष र एकीकृत समाजवादीको भागमा उपाध्यक्ष परेको थियो । काँग्रेसले अध्यक्षमा भदे बुढा मगर र उपाध्यक्षमा अमृता सिंहलाई उम्मेदवार बनाए पनि गठबन्धन दलकै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले काँग्रेसको तानासाही प्रवृत्तिका विरुद्ध छुट्टै लड्ने घोषणा गरेर अध्यक्षमा छवि सुबेदी र उपाध्यक्षमा काँग्रेसकै गाउँपालिकाका सभापति गंग बहादुर शाहीलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएपछि त्यहाँको निर्वाचन समेत रोचक हुने भएको छ ।
गाउँपालिकामा सबै भन्दा बलियो नेपाली काँग्रेस भए पनि गाउँपालिका सभापतिले पार्टी परिवर्तन गर्नु र काँग्रेसकै नेता विद्या शर्मा र कर्ण बहादुर खत्रीले समेत बागी उम्मेदवार दिएपछि काँग्रेसलाई समस्या देखिएको छ । नेपाली काँग्रेस बाट गाउँपालिकाका अध्यक्षमा भदेबुढामगरले गाउँपालिकामा अधिकांश बस्ती जनजाति भएको र नेपाली काँग्रेसको उम्मेदवार जनजाति भएकै कारण आफूले मत पाएर जित्नेमा ढुक्क भएको बताए । नेकपा एमालेले भने अध्यक्षमा शशि विश्वकर्मा र उपाध्यक्षमा गीता चन्दलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस विभाजन हुनु र माओवादी र समाजवादी एक हुँदा पनि आफू जित्नेमा नेकपा एमाले ढुक्क भएको छ ।
भगवतिमाई गाउँपालिकामा पनि त्रिपक्षीय प्रतिस्पर्धा छ । नेकपा(एमाले) बाट शान्ति प्रसाद शर्मा अध्यक्ष र उपाध्यक्षमा बसन्ता शाहीलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले २०७४ को निर्वाचनमा उप विजेता बनेभ दशरथ खड्का र मिना थापा खड्का लाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले ०७४ को निर्वाचनमा तेस्रो स्थानमा रहेका गणेश थापालाई अध्यक्ष र मनीषा सोनीलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीको गठबन्धन भएका कारण माओवादीले निर्वाचन जित्ने आधार देखिए पनि नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा छिनो मतले पराजित भएको र अहिले सङ्गठन बलियो भएका कारण निर्वाचन जित्नेमा ढुक्क भएको छ । नेकपा एमाले भने २०७४ मा एक्लै जितेको र अहिले समाजवादीमा केही नेता तथा कार्यकर्ताहरू लागे पनि राप्रपा नेपाललाई एक वडा दिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मत लिने गरी लागेपछि त्यहाँको प्रतिस्पर्धा रोचक भएको छ । एमालेलाई अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर गाउँपालिका –६ को वडाध्यक्षमा निर्वाचित भएका वीर शङ्कर रोकायले एमालेलाई समर्थन गरेका कारण पनि एमाले पनि निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।
त्यस्तै गुराँस गाउँपालिकामा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । नेपाली काँग्रेस बाट अध्यक्षमा खेमराम ओली र उपाध्यक्षमा दिपा बिसीलाई नै दोराएर उम्मेदवार बनाएको छ भने नेकपा एमालेले टोप कुमार बिसीलाई अध्यक्ष र शिवा कुमारी खड्कालाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्षमा कृष्ण गिरी र उपाध्यक्षमा कुसुम कुमारी शाहीलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसका नेता पदम मल्लले उपाध्यक्ष र वडा अध्यक्षमा समेत प्यानल बनाएर नै उम्मेदवार बनाएपछि भने नेपाली काँग्रेसलाई समस्या भएको छ । नेकपा एमाले र माओवादीले भने त्यसैको फाइदा उठाएर निर्वाचन जित्ने दाउमा देखिएका छन् ।
ठाटिकाँध गाउँपालिकामा नेपाली काँग्रेसले रक्ष बहादुर शाही र उपाध्यक्षमा भद्रा कुमारी शाहीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले अध्यक्षमा लक्ष्मी देवी शाह र उपाध्यक्षमा देवीराम बडूवाललाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रले अध्यक्षमा उमेश कुमार रावत(निर्मल) र उपाध्यक्षमा बिजु कुमारी रावतलाई उम्मेदवार बनाएको छ । तीनै दलले आ आफूले जित्ने दाबी गरेका छन् ।
भैरवी गाउँपालिकामा भने द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन दल बाट नेपाली काँग्रेसले अध्यक्षमा रिता शाही र उपाध्यक्षमा देवी भण्डारीलाई उम्मेदवार बनाएको छ । माआबोदी केन्द्रले भने उपाध्यक्षमा मात्र उम्मेदवारी दिएको छ । नेकपा एमाले पुराना नेता जिल्ला समन्वय समितिका सदस्य समेत रहनुभएका सर्बराज महतारा र उपाध्यक्षमा २०७४ को निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुभएकी पदम कुमारी बिस्टलाई उम्मेदवारी बनाएको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष र अधिकांश वडामा जितेको थियो । नेपाली काँग्रेसले माओवादी केन्द्रको साथ भएको र एमाले विभाजन भएको बेला सहज रूपमा जित्नेमा विश्वस्त रहेको छ ।
त्यस्तै डुगेश्वर गाउँपालिकामा पनि द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गठबन्धन दलको तर्फ बाट अध्यक्षमा नगेन्द्र हमाल र उपाध्यक्षमा एलिजा थापाले उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले केही वडा लिएर नेपाली काँग्रेसलाई अध्यक्ष र उपाध्यक्षमा सहयोग गर्ने निर्णय गरेको छ । नेकपा एमालेले भने शालीन नेता सुन्दर केसीलाई उम्मेदवार बनाएको छ । लामो समय शिक्षण पेसा गर्नुभएको र गाउँपालिकाको बिच केन्द्रबाट उम्मेदवार बनाएपछि नेकपा एमाले समेत जित्ने रणनीति बनाएको छ । उपाध्यक्षमा भने २०७४ को निर्वाचनमा उपविजेता बन्नुभएकी कलावती न्यौपानेलाई नै उम्मेदवार बनाएको छ ।