काँग्रेस नेता कार्यकर्ताले धमाधम राजीनामा दिदै
दैलेख : स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा नेपाली काँग्रेस दैलेखका नेता कार्यकर्ताहरुले धमाधम राजीनामा दिन थालेका छन् । कतिपयले पार्टीबाट स्थानीय तहको उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् भने । कतिपयले अन्य कारण देखाउँदै राजीनामा दिएका छन् ।
मंगलवार जिल्लाको गुराँस गाउँपालिका गाउँ कार्यसमितिका उपसभापति सहितका नेता कार्यकर्ताहरुले राजीनामा दिएका छन् । नेपाली काँग्रेस गुराँस गाउँ कार्यसमितिका उपसभापति सम्झना विश्वकर्मासहितका नेता कार्यकर्ताहरुले राजीनामा दिएका हुन् । उपसभापति विश्वकर्मासहित वडा नम्बर २ कार्यसमितिका सभापति जयबहादुर वली, सह–सचिव भगवती शाही र सदस्यहरु सोमती विक र कुलबहादुर नेपालीले समेत राजीनामा दिएका छन् ।
सोमवारमात्रै नेपाली काँग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंगबहादुर शाहीले पार्टी परित्याग गरेको घोषणा थिए । उनि २०५८ सालदेखि नेपाली काँग्रेसमा आबद्ध थिए । काँग्रेसको १३ औँ महाधिवेशन र हालै सम्पन्न १४ औँ महाधिवेशनबाट नौमूले गाउँ कार्य समितिको सभापतिमा निर्वाचित शाहीले यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमुल्यन गर्दै पैसावाला सिमित दलाल, ठेकेदार तथा भ्रष्टहरुलाई टिकट बिक्री गर्ने पार्टीका केहि दलाल नेताहरुका विरुद्ध घोर आपत्ती प्रकट गर्दछु ।’
विज्ञप्तीमा भनिएको छ,‘पार्टीमा दुख संघर्ष गर्ने कार्यकर्ताहरुको भविष्य समाप्त बनाईदिने तत्वहरुलाई खबरदारी गर्दै आजकै मितिबाट नेपाली काँग्रेस पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’
पार्टीबाट राजीनामा दिएका शाही नेकपा ९एकीकृत समाजवादी० पार्टीको तर्फबाट नौमूले गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । यस्तै नेपाली काँग्रेस दैलेखको नेतृ पुण्यप्रभा दसौदी नेकपा (एकीकृत समाजवादी) पार्टीबाट महाबु गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी छन् । साभार ज्वाला सन्देश