Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कर्णालीमा बस खस्दा एक बेपत्ता


दैलेख  :  कर्णाली नदीमा मिनी बस खस्दा एकजना बेपत्ता भएका छन्। कालिकोटको पचालझरना गाउँपालिका–८ भुइँचेचाङ र खोली बजारको बिच भागमा पर्ने कर्णाली नदीमा मिनी बस खस्दा एकजना बेपत्ता भएका कालिकोट प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकार भूपेन्द्र शाहीका अनुसार नरहरिनाथ गाउँपालिका–१ लाली घाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको बस कर्णाली नदीमा खस्दा एकजना बेपत्ता र दुईजना घाइते भएका हुन्।

बसमा तीनजना सवार रहेको बुझिएको छ। गाडीमा सवार तीनजनामध्ये चालक र यात्री एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यात्री महिला बोल्न सक्ने भए पनि चालक अचेत रहेको सूचना अधिकारी शाहीले बताए।

प्रहरीका अनुसार घाइते चालक कृष्णबहादुर शाही र यात्री महिला कालिकोटको पचाल झरना गाउँपालिका–८ की सलानी कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट ल्याउँदै गरिएको छ।

कर्णाली नदीमा बेपत्ता सहचालकको पहिचान नखुलेको प्रहरीले जनाएको छ।