निशुल्क स्वास्थ्य शिविर संचालन
दैलेख : दैलेखको नौमुले गाउँपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्य अभियान संचालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेख र नौमुले गाउँपालिकाको आयोजनामा उक्त शिविरको आयोजना गरिएको थियो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य निरक्षक नमराज सुबेदीलले शिविरमा दुई सय ५० जना बिरामीले उपचार सेवा पाएको बताए । उनले शिविर अगाडी नै संचालन गर्ने भएपनि कोरोना महामारीका कारण ढिला भएको बताए । उनले भने गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको सयुक्त आयोजनामा शिबिर संचालन गरेको र त्यसमा ८० जनाको भिडियो एक्सरे,५० जनाको रगत जाँच,३० जना गर्भवतिको स्वाथ्य परिक्षण,र अन्य बिरामीहरुले सेवा लिएको बताए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर जीवन ज्ञावलीले शिविरमा नाक, कान, घाँटी, छाला तथा यौन रोगका साथै महिलाको पाठेघर सम्बन्धि समस्या भएकाका बिरामी शिविरमा आएको बताए । उनले आवश्यक औषधी र स्वास्थ्य परामर्श दिइएको बताए । शिविरमा क्यान्सर रोग भएका बिरामीले समेत स्वास्थ्य सेवा लिएको बताइएको छ । शिविरमा पाँच जना डाक्टरले स्वास्थ्य परिक्षण गरेका थिए ।
नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले गाउँपालिका नागरिकले घर आगनमै स्वास्थ्य सेवा तथा परामर्श दिनका लागि शिविर संचालन गरिएको बताए । उनले आर्थिक अभावकै कारण उपचारका लागि जिल्ला र जिल्ला बाहिर जान नसक्ने नागरिकका लागि यो शिविर महत्वपुर्ण भएको बताए । उनले दुर्गम गाउँका नागरिकले गाउँमै स्वास्थ्य परिक्षण गर्न पाउँदा खुसी भएको बताए ।
सरकारले स्थानीय तहमै १५ शैय्याको अस्पताल बनाउने तयारी गरेपनि जिल्लाका अधिकाँस गाउँपालिका तथा नगरपालिकामा अस्पताल निर्माण हुन नसकिरहेको बेला गाउँमै स्वास्थ्य शिविर संचालन गरी नागरिकको स्वास्थ्य उपचारको हकलाई सुनिश्चित गर्न सबै पक्ष लाग्नु पर्ने नागरिक अगुवाले बताएका छन ।