Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

गाउँमै खुल्यो तरकारी संकलन केन्द्र

दैलेख  : नारायण नगरपालिका–२ जाहरकोटमा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । व्यावसायिक तरकारी खेती गरेका किसानलाई डोकोमा तरकारी बेच्नु पर्ने बाध्यता अन्त्य गर्न नारायण नगरपालिका–२ मा रहेको कृति देवल सहकारी संस्था लिमिटेडको सहयोगमा तरकारी संकलन केन्द्र स्थापना गरिएको हो ।
तरकारी संकलन केन्द्रको उद्घाटन गर्दै नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले उत्पादन भएको तरकारी गाउँमै सकलन हुँदा किसानको समयको बचत हुने बताए । उनले यहाँको किसानले डोको बोकेर बजार जानु पर्ने बाध्यता देखेको कारण नगरपालिकाले सहकारीलाई गाडी खरिद गरिदिएको बताए । उनले भने तीनै तहका सरकारले व्यावसायिक किसान उत्पादन गर्न लाखौँ रकम खर्च गरेको बताउँदै अनुदान बापत पाएको रकमको सही सदुपयोग गर्दै आफ्नो आय आर्जनमा वृद्धि गर्नु पर्दछ ।

नारायण नगरपालिका–२ का वडा अध्यक्ष रेसम बहादुर थापाले निर्वाचनको बेला जनता बिचमा गरिएको प्रतिबद्धता अनुसार संकलन केन्द्र स्थापना भएको बताए । उनले निर्वाचनको बेला यहाँका किसानका बिचमा गाउँमै तरकारी संकलन केन्द्र स्थापना गर्ने र संंकलन भएको तरकारी सहकारीले बजारीकरण गर्ने त्यसका लागि गाडी खरिद गर्ने प्रतिबद्धता गरेको थिए त्यो पुरा भएको छ । उनले भने मैले राजनैतिक सँगै व्यावसायिक तरकारी खेती गर्दै आएको छु अन्य किसानलाई समेत तरकारी खेती गर्न प्रोत्साहन गर्ने गरेको छु ।

कृति देवल सहरकारी संस्थाका अध्यक्ष दीपक कुमार थापाले ब्यबसायिक तरकारी खेती गरेका किसानलाई डोकोमा तरकारी बोकेर बजारमा पुगेर बेच्नु पर्ने बाध्यता अन्त्यका लागि सहकारीले संकलन केन्द्र स्थापना गरेको बताए उनले सहकारीले किसानले तोकेकै मूल्यमा तरकारी संकलन गर्ने र सहकारीले त्यसको बजारीकरण गर्ने बताए । उनले भने संकलन केन्द्र मध्य पहाडी राजमार्गमै पर्ने भएका कारण पनि तरकारी दुल्लु नगरपालिका,भैरवी गाउँपालिका,महावु गाउँपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाटिकाँध गाउँपालिकाका नागरिकले समेत खरिद गरेर लैजाने गरेका छन् ।

नारायण नगरपालिका –२ की रत्ना थापाले डोको बोकेर बिहानै तरकारी बेच्न जानु पर्ने बाध्यता हटेको बताइन । उनले तरकारी बेच्न डोको बोकेर जानु पर्ने र बजारमा डुलाउनु पर्ने दुःख अत्य भएको बताइन । कृति देवल सहकारी संस्थाका शेयर सदस्य समेत रहेका किसानले आफूले उत्पादन गरेको तरकारी सहकारीलाई नै दिँदा राम्रो भएको प्रतिक्रिया दिइन ।