Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

दैलेख  :  नेकपा एमाले निकट जनसङ्गठनहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । दैलेखमा क्रियाशील एमाले निकट १६ ओटै जनसङ्गठनले लोकतन्त्रको मूल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेल मार्फत ज्ञापन पत्र बुझाएको हो ।
अखिल नेपाल किसान महासङ्घ,राष्ट्रिय युवा सङ्घ, अनेरास्वीयु,नेपाल उत्पीडित जातीय मुक्ति समाज,मानव अधिकार एयरलाइन्स,नेपाल बुद्धिजीवी परिषद्,नेपाल उद्योग तथा व्यवसायी महासङ्घ,प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन,अखिल नेपाल महिला सङ्घ,राष्ट्रिय सांस्कृतिक महासङ्घ,नेपाल आदिवासी लोकतान्त्रिक महासङ्घ,पेसागत महासङ्घ, नेपाल भूपू सैनिक तथा प्रहरी सङ्गठन, नेपाल खेलकुद महासङ्घ,प्रगतिशील इन्जिनियर एसोसिएसन र प्रेस चौतारी नेपालले संयुक्त रूपमा ज्ञापन पत्र बुझाउँदै निर्वाचनको मिति घोषणाको माग गरेका हुन् ।
सरकार निर्वाचनबाट पछाडि हटे लाखौँ नेपाली जनतालाई लोकतन्त्र बचाउने लडाइँमा पुनः एक पटक सडकमा उतार्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार वर्तमान सत्ता गठबन्धन हुने राष्ट्रिय युवा सङ्घका नेता जीवन शाहीले बताए ।

ज्ञापन पत्रमा सुकुम्वासी समस्या समाधान गरी तत्काल लालपुर्जा वितरण गर्नु पर्ने,दैलेखमा रहेको गुठीको जग्गालाई रैकरमा परिणत र मठमन्दिरमा रहेको जग्गालाई गुठिका नाममा गर्नु पर्ने,पेट्रोलियम पदार्थको अन्वेषण कार्य तत्काल बढाउनु पर्ने,विकास निर्माणका काममा देखिएको आर्थिक अनियमितता तत्काल बन्द गरी सुशासनको प्रत्याभूति गर्नु पर्ने,पेट्रोलियम पदार्थको मूल्य तथा उपभोग्य बस्तुहरूको मूल्यवृद्धि नियन्त्रण गर्नु पर्ने,कोरोना बाट प्रभावित नागरिकलाई खोप तथा अन्य स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।