Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

कर्णाली सरकारद्वारा बाढी पीडितलाई १२ करोड निकासा

सुर्खेत  :  कर्णाली सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार राहत रकम पठाएका छन् । यस्तै दुई करोड बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाको छनोट भएको मुख्यमन्त्री शाहीले बताए । उनले भने, कर्णालीको बेरोजगारी र गरिबी समाधानका लागि बजेट छुट्टयाइएको हो । रोजगार कार्यक्रमका लागि छनोट भई आएका आयोजनाको कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा बजेट पठाइसकेका छौँ ।’

प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमतर्फ हालसम्म बैंकबाट २०९ र सहकारीबाट ६११ व्यवसायीले अनुदान लिएको र त्यसवापत एक करोड ५१ लाख प्रदेश सरकारले ब्याज भुक्तानी गरेको मुख्यमन्त्री शाहीले बताए । प्रदेश सरकारद्वारा ‘कर्णाली प्रदेश प्रसारण नियमावली, २०७६’ संशोधन गरी सञ्चारमाध्यमको आव २०७८र७९ को नवीकरण दस्तुर छुट र रोयल्टी शुल्क एक प्रतिशत झारिएको छ । साभार नेपाली रैबार