Loading... आजः आइतवार, जेष्ठ १७, २०८३
Trending

ओमिक्रोन फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन

काठमाडौँ  :  सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो।

महाशाखाले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ।

महाशाखाले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरेर क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न निर्देशन दिएको छ।